प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी प्रमुखहरुसंग Virtual माध्यमद्वारा साउन महिनाको कार्य सम्पादन समिक्षा
२०८३-०५-२२
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुसंग भर्चुअल माध्यमद्धारा साउन महिनाको कार्य सम्पादनको समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ । भदौ २२ गते भएको समिक्षामा कार्यसम्पादन सम्झौता बमोजिम साउन महिनामा प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्य प्रगति बिवरणको समिक्षा गरिएको थियो । उक्त समिक्षामा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले १४ वटै जिल्लाको कार्यसम्पादनको तुलनात्मक विवरण प्रस्तुत गर्नु भएको थियो ।
· समिक्षा पश्चात जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशनको क्रममा कोशी प्रदेश प्रहरी प्रमुख खनालले तालुक कार्यालय तथा यस कार्यालयबाट दिईएका निर्देशनको अक्षरस पालना गरी कार्य सम्पादन सम्झौतामा उल्लेख भएका बुँदाहरु बमोजिम लक्ष हासिल गर्न निर्देशन दिनु भएको छ ।
· प्रहरी कार्यालयमा आउने सेवाग्राही, प्राप्त निवेदन र उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गर्न, महिला बालबालिकाहरुसंग सम्बन्धीत उजुरीलाई संबेदनशिल भई बिशेष ध्यान दिन ।
· चौकी स्तर सम्मका प्रहरी कार्यलयहरुमा फरार प्रतिबादीहरुको बिवरण उपलव्ध गराई विशेष सक्रियताका साथ पक्राउ गर्न , खुल्ला सीमानाको कारण हुन सक्ने भन्सार छली, चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसार, पसारलाई नियन्त्रण गर्न प्रभावकारीरुपमा प्रहरी परिचालन गर्न ।
· सवारी दुर्घटना न्यूनिकरण गर्न कार्य योजना बनाई ट्राफिक जनचेतना अभिवृद्धि, यातायात व्यवसायी, स्थानिय निकाय, संघ संस्थाहरुसंग सहकार्य गरी प्रभावकारी प्रहरी परिचालन गर्न र ट्राफिक नियम उलंघन गर्नेलाई कानून बमोजिम कार्वाही गर्न ।
· विपदका घटनाहरु जुन सुकै अवस्थामा घटन सक्ने हुँदा आवश्यक सामग्रीहरु सहित परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन र नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना बनाई प्रभावकारीरुपमा प्रहरी परिचालन गरी आपराधिक गतिविधि नियन्त्रण गर्न निर्देशन दिनु भएको छ ।