प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियानको शुभारम्भ

२०७९-०६-०२

  • A
  • A-
  • A+
Share

१ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियान कार्यक्रमको शुभारम्भ भएको छ । 

१ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री राजन राई,  मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिका, विद्यार्थीहरु एवं सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि बिराटनगरको रोडशेष चोकबाट शुभारम्भ भई संसारी माईस्थान, ट्राफिक चोक, जलजला चोक हुँदै जैन भवनमा पुगी  कार्यक्रममा परीणत भएको थियो ।

१ नम्बर प्रदेशका मुख्य मन्त्री राजेन्द्र राईले पानसमा दिप प्रज्वलन गरी उद्घाटन भएको उक्त कार्यक्रममा आफ्ना महत्वपुर्ण भनाईहरु राख्दै वहाँले मानिसमा निराशा उत्पन्न भई आत्महत्याको बाटो रोज्ने गरेको पाईएको हुँदा यस किसिमको कार्यक्रमले मानिसको चेतनामा बृद्धी भई आत्महत्याका घटनामा कमी आउने बिश्वास लिईएको बताउनु भयो । साथै वहाँले नागरीकको जिवन रक्षा गर्ने यस किसिमको कार्यक्रममा सहभागी भई हातेमालो गर्दै अगाढी बढ्न सबै सरोकारवाला निकायहरुलाई आग्रह गर्दै प्रदेश सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको समेत बताउनु भयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले स्वागत मन्तब्य राख्नु हुँदै आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताउनुभयो ।

उक्त अवसरमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने हुँदा यसका लागि सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङवोले आत्महत्या गर्ने बिभिन्न धेरै कारणहरु रहेता पनि सबै नागरीकहरुले आ-आफ्नो कमजोरी तथा असफलतालाई नकारात्मक सोच्न नहुने र असफलताले नै सफलताको मार्ग प्रशस्त गर्ने भएकोले सकारात्मक सोंचका साथ अगाडि बढेमा पक्कै पनि आत्महत्या दर घटन सक्ने हुँदा यस किसिमको सचेतना कार्यक्रम प्रभावकारी हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

यसैगरी उक्त कार्यक्रममा सामाजिक बिकाश मन्त्री राजन राई र स्वास्थ्य मन्त्री यज राम यादवले आ-आफ्नो भनाई राख्नु हुँदै  आत्महत्याको कारणहरू पहिल्याउँदै सम्बन्धित सरोकारवालाहरू सक्रिय भई आ-आफ्नो भूमिका अनुरूप उपयुक्त र प्रभावकारी हस्तक्षेप गर्न सकेमा आत्महत्याको दरमा कमी आउने बताउनु भयो ।


कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले नागरिकको जीवन रक्षा गर्ने नेपाल प्रहरीको मूल दायित्व बोध गरी नेपाल प्रहरीको कार्ययोजना, २०७९ अन्तर्गत आत्महत्या न्यूनीकरण कार्यक्रम अनुरूप प्रदेश भरी आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सु-सूचित गराउने उद्देश्य अनुरुप यो सचेतना कार्यक्रमको शुभारम्भ गरिएको बताउनु भयो । साथै वहाँले नागरीकको जिवन रक्षा गर्ने यो कार्यक्रममा सबै निकायबाट साथ र सहयोगको अपेक्षा लिईएको समेत बताउनु भयो ।


कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुवँरले आत्महत्याको बर्तमान अवस्था सम्बन्धी तथ्याङक,चुनौतीहरु र सम्भाब्य रोकथामका उपायहरुबारे प्रस्तुतीकरण गर्नु भएको थियो भने प्रादेशिक अस्पताल बिराटनगरका डा. आलोक झाले आत्महत्या रोकथामका चुनौतीहरु र सम्भाब्य रोकथामका उपायहरुबारे प्रस्तुतीकरण गर्नु भएको थियो ।


आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियान २०७९,  प्रदेश स्तरीय कार्यक्रम बिराटनगरमा र १ नम्बर प्रदेशका सबै जिल्ला सदरमुकामहरूमा समुदाय-प्रहरी साझेदारीको ब्यानरमा विभिन्न कार्यक्रमको आयोजना गरी आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम एकै साथ शुभारम्भ गरिएको हो । यो अभियान समुदाय साझेदारी कार्यक्रम मार्फत  हरेक टोल र समुदायमा पुग्ने गरी १ बर्ष सम्म निरन्तर रुपमा संचालन भईरहने छ ।

सम्बन्धित समाचार
लागूऔषधसहित ३ जना पक्राउ
२०८३-०६-२५

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागूऔषध तथा प्रतिबन्धित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ। असोज २४ गते मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले धनकुटाको सहिदभूमि गाउँपालिका–२ की २२ वर्षीया मुस्कान राईलाई १ किलो १८ ग्राम गाँजासहित पक्राउ गरेको छ। त्यसैगरी, सुनसरीको वडा प्रहरी कार्यालय इटहरीले इटहरी उपमहानगरपालिका–९ का १९ वर्षीय रिकेश चौधरीलाई ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने प्रहरी चौकी खनारले इटहरी–१३ का २७ वर्षीय सुनिल सरदारलाई नाइट्राजेपामका १२६ ट्याब्लेटसहित पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०६-२४

 सुनसरी र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरीएको छ । असोज २३ गते राती मोरङको रंगेली नगरपालिका-८ स्थितबाट को २ ह ४१८२ नम्बरको ई-रिक्साको सिट मुनि लुकाई छिपाई राखेको १० ग्राम १०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित चालक कानेपोखरी-७ का २१ वर्षीय अर्पन जोगी र सवार पथरी सनिश्चरे-१ का रोसन बिश्वकर्मा, रितेश लिम्बुलाई पक्राउ गरेको हो । यसैगरी मोरङको विराटनगर महानगरपालिका-१६ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त प्रहरी टोलीले को ३१ प २४७७ नम्बरको मोटरसाईकल चालक लेटाङ नगरपालिका-५ का ३० वर्षीय विशेष मगरलाई २ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ बसचोक स्थितबाट केराबारी गाउँपालिका-३ का २४ बर्षीय सुमन राईलाई १ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर सहित र ईटहरी उप-महानगरपालिका-२ का ३२ बर्षीय भविन प्रधान, ३० बर्षीय रबिन कुमार प्रधान इटहरी-३ का ३१ बर्षीय मुकेन्द्र कुमार राईलाई ६ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

बिभिन्न मुद्दाका १५ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२४

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १५ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २३ गते मोरङबाट ६ जना, झापाबाट ८ जना र सुनसरीबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ४ वर्ष १ महिना ७ दिन कैद सजाय र ४ करोड ७ हजार ८ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

बिभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२३

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २२ गते मोरङबाट १ जना, झापाबाट १ जना, सुनसरीबाट २ जना, भोजपुरबाट १ जना र इलामबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट २ वर्ष ६ महिना २५ दिन कैद सजाय र ६८ हजार ४ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।  

लागू औषध सहित १५ जना पक्राउ
२०८३-०६-२३

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित १५ जनालाइ पक्राउ गरिएको छ । असोज २२ गते सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाले उदयपुर चौढण्डीगढी नगरपालिका-३ का नरेश राई, अनुश मगरलाई डाईसाईक्लोमाइन १३९० ट्रयाब्लेट, ट्रामाडोल १३९० क्याप्सुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा झापाको इलाका प्रहरी कार्यालय दमकले दमक-७ का आशिस कुमार तामाङ, शशिष कुमार तामाङ, समिर मल्लिक, पुजन सुन्दास र काठमाडौं तार्केशोर नगरपालिका-११ का समिर क्षेत्रीलाई १ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर र ट्रामोल-२७ क्याप्सुल सहित र दमक-७ का राज गौतम र लक्ष्मी शंकरलाई ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले भोजपुरको षडानन्द नगरपालिका-७ का सुर्य दर्जीलाई १ ग्राम २८० मिलिग्राम ब्राउनसुगर सहित, अस्थायी प्रहरी चौकी सोमबारेले बेलबारी नगरपालिक-६ का राहुल राईलाई ९ ट्याब्लेट प्रतिबन्धित औषधी सहित, इलाका प्रहरी कार्यालय लौकहीले दुहबी नगरपालिका- ५ का शिशिर कुँवरलाई ४२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले ईटहरी-१७ की जैमुल खातुनलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले धरान-२० का बिशाल राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय मायागंजले धनपालथान गाउँपालिका-३ स्थितमा बेवारिसे अवस्थामा २४ किलो ७१० ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।