लागू औषध सहित ९ जना पक्राउ
२०८३-०८-०६
झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ ।
मंसिर ५ गते झापाको लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का ३० वर्षीय देब बहादुर पुलामीलाई १ ग्राम ९०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी, मोरङको पथरीशनिश्चरे नगरपालिका-४ का २४ वर्षीय कैलाश तामाङ र २३ वर्षीया अनिसा तामाङलाई ४ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर र निट्जासेन्ट १२८ क्याप्सुल प्रतिबन्धित औषधि सहित प्रहरी चौकी कुशेचौरी मोरङले पक्राउ गरेको छ ।
त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय दुहबीले प्र.१-०२-०५३ प ४७२९ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्ने क्रममा चालक धरान उपमहानगरपालिका-२० का २१ वर्षीय गौरव राईलाई २१ किलो ९८० ग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवानगञ्जले देवानगञ्ज गाउँपालिका-३ का २२ वर्षीय सन्तोष कुमार राम, भारतको अररिया निवासी २१ वर्षीय सन्दिप कुमार पासवान र २५ वर्षीय दिनदयाल पासवानलाई बि.आर. ५० ए.ई. ३६५५ नम्बरको भारतीय मोटरसाइकलमा सवार रहेको अवस्थामा ३ किलो ८०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय रामधुनी र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका-१ का २५ वर्षीय विवेक चौधरीलाई १ ग्राम २५० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय धरानले धरान-८ का ३२ वर्षीय सुशिल परियारलाई ट्रामाडोल ३६४ क्याप्सुल र स्पासपेन ३६४ ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ ।
लागू औषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भईरहेको छ ।