आसरा सुधार केन्द्र पानवारी धरानमा महिला सुधार केन्द्र भवनको शिलान्यास
२०८३-०८-१०
- A
- A-
- A+
सुनसरीको आसरा सुधारकेन्द्र पानवारी धरानमा महिला दुर्व्यसनीहरुको उपचार तथा पुनर्स्थापनाको लागि महिला सुधार केन्द्र भवनको शिलान्यास भएको छ । मंसिर १० गते आयोजित कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले भवनको विधिवतरुपमा शिलान्यास गर्नुभएको हो । आसरा सुधार केन्द्र पानवारी धरानमा पुरुष दुर्व्यसनीहरुलाई मात्र उपचार सेवा प्रदान गरिंदै आएकोमा बर्तमान अवस्थामा महिला दुर्व्यसनीहरुको संख्यामा समेत बृद्धि हुँदै गएकोले महिला दुर्व्यसनीहरुको उपचार तथा पुनर्स्थापनाको लागि महिला आवास भवन निर्माण गर्नु पर्ने आवश्यकता भएपछि महिला सुधार केन्द्र भवन निर्माण प्रक्रिया अघि बढाइएको हो । सिलान्यास कार्यक्रममा प्रमुख अतिथि खनालले लागुऔषध दुर्व्यसनमा फसेका महिलालाई लक्षित गरी महिला सुधार केन्द्रको स्थापना गरिएको बताउनु हुँदै सुबिधा सम्पन्न सुधार केन्द्रबाट दुर्व्यसनबाट प्रभावित महिलालाई समाजमा सहजरुपमा पुनःस्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
भवन शिलान्यास कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्ल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी सुनसरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरी, सुधार केन्द्र संचालक समितिका प्रथम उपाध्यक्ष शिला बज्राचार्य लगायत स्थानिय संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।