सीमानाका लगायत बिभिन्न स्थानमा प्रहरी कुकुर सहितको चेकजाँच
२०८३-०७-२०
- A
- A-
- A+
कोशी प्रदेश प्रहरीले चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, अवैध गतिविधि, विस्फोटक पदार्थको ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न चाडपर्व सुरक्षा योजना अनुसार सक्रियरुपमा प्रहरी परिचालन गरेको छ । बिशेष गरी तिहारलाई लक्षित गरी पटका तथा पटकाजन्य अन्य विस्फोटक पदार्थको बिक्री वितरण, ओसार पसार र प्रयोगलाई नियन्त्रण गर्न सीमा नाकामा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाएको छ । चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि, लागूऔषधको ओसार पसार, पटकाजन्य विस्फोटक पदार्थ नियन्त्रणको लागी बिभिन्न स्थानमा प्रहरी कुकुरसहितको चेकिङ टोली परिचालन गरी सवारीसाधन, शंकास्पद सामग्री तथा आवतजावत गर्ने संकित व्यक्तिमाथि निगरानी र चेक जाँचलाई कडाइ गरिएको छ । चेकजाँचको क्रममा प्रहरीले बिभिन्न स्थानहरुबाट अबैधरुपमा भित्राएका करिव १० लाख ७ हजार भन्दा बढी मुल्य वरावको पटकाजन्य विस्फोटक पदार्थ बरामद गरी नष्ट गरेको छ ।
चाडपर्वको समयमा आफ्नो घर तथा पसलको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिको गतिविधि प्रति सचेत रहन, पटका तथा पटकाजन्य विस्फोटक पदार्थको प्रयोग नगर्न र कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपत्कालिन सेवा १०० मा जानकारी गराउन सम्पूर्ण महानुभावहरुमा कोशी प्रदेश प्रहरी अनुरोध गर्दछ ।