साधाना देवी उत्कृष्ट प्रहरी पुरस्कारबाट प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली र प्रहरी वरिष्ठ नायव निरीक्षक धर्मेन्द्र कार्की पुरस्कृत
२०८३-०६-३०
- A
- A-
- A+
प्रहरी दिवसको अवसरमा प्रदान गरिने १ लाख धनराशीको बाहौ “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” यस वर्ष जिल्ला प्रहरी कार्यालय संखुवासभाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक धर्मेन्द्र कार्कीलाई प्रदान गरिएको छ । कोशी प्रदेश अन्तरगत वर्ष भरीमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु मध्येबाट सर्वोत्कृष्ट छनौट भएका दुवै जनालाई ७१ औं प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो ।
प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले संखुवासभा जिल्लाको शान्ति-सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण र प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, पहुँचयोग्य एवं जनमुखी बनाउन अतुलनीय योगदान पुर्याउनुको साथै कार्यसम्पादन सम्झौता मूल्यांकनमा कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालयहरूमध्ये सर्वोत्कृष्ट हुन सफल भएको साथै प्रहरी वरिष्ठ नायव निरीक्षक धर्मेन्द्र कार्कीले सुनसरीको रामधुनी-२ का दिनेश कुमार चौधरीको हत्यामा संलग्न रामधुनी-१ का ४३ वर्षीय राजेश भन्ने राजकिशोर साह, ४० वर्षीय नन्द किशोर साह, भोक्राहा नरसिंह-५ का ३४ बर्षीय मोहमद इब्रान मिया, देवानगन्ज-४ का ३७ वर्षीय गियास मन्सुरी, देवानगन्ज ५ का २५ वर्षीय मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका-१६ का २८ वर्षीय अंकित साह र राजबिराज-९ का २८ वर्षीय प्रिन्स कुमार दास सहित ७ जनालाई पक्राउ गर्न सफलभएको हुँदा उहाँले सम्पादन गरेको कार्यको उच्च मूल्याकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले १ लाख धनराशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कारद्वारा पुरस्कृत गरेको हो । पुरस्कृत हुने प्रहरी अधिकृतहरुलाई अक्षयकोषका संस्थापक बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका प्रोफेसर डाक्टर बिक्रम प्रसाद श्रेष्ठले ५०/५० हजार धनराशीको चेक प्रदान गर्नु भएको थियो । कार्यक्रममा “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” अक्षयकोषका संस्थापक डाक्टर बिक्रम प्रसाद श्रेष्ठलाई प्रमुख अतिथि माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।