प्रहरी कार्यक्रम प्रसारण गर्न सुर्योदय टेलिभिजनसंग सम्झौता
२०८३-०५-०८
समाजमा शान्ति सुरक्षा सुदृढ बनाउने तथा आम नागरिकमा सचेतनाको कमिबाट हुने अपराधका घटनाहरुलाई न्यूनीकरण गर्ने उद्धेश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र सुर्योदय टेलिभिजन बिर्तामोड, झापाबीच "प्रहरी कार्यक्रम" प्रसारण गर्ने सम्झौता भएको छ । भदौ ६ गते बिर्तामोड स्थित सुर्योदय टेलिभिजनको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फबाट प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना र सुर्योदय टेलिभिजनको तर्फबाट कर्पोरेट निर्देशक यम नाथ बिमली बीच सुर्योदय टेलिभिजनबाट प्रत्येक शुक्रबार बेलुकी ०६:३० बजे प्रहरी कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम' अन्तर्गत सुरक्षित र अपराधमुक्त समाज निर्माणका लागि विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, स्थानीय तह तथा सञ्चार माध्यमहरूसँग निरन्तर सहकार्य गर्दै आईरको छ ।
यसै अभियान अन्तर्गत टेलिभिजन, रेडियो तथा डिजिटल माध्यमहरूबाट नियमित रूपमा प्रहरी कार्यक्रम मार्फत जनचेतनामूलक सामग्रीहरु प्रसारण हुँदा दुर दराज सम्म रहेका नागरिकहरुमा सचेतना अभिबृद्धि भई सुरक्षित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।साथै “प्रहरी कार्यक्रम”लाई अझ बढी परिष्कृत, उपयोगी र जनमुखी बनाउनका लागि यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको लागी कोशी प्रदेश प्रहरी हार्दिक अपेक्षा गर्दछ ।