“TEA WITH TEAM” कार्यक्रम सम्पन्न
२०८३-०५-०५
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरुबीच आपसी सद्भाव, आत्मीयता, सहकार्य र सामूहिक भावनाको विकास गर्ने उद्देश्यले ‘सहकर्मीसँग एक कप चिया “Tea With Team” कार्यक्रमको आयोजना गरेको छ । भदौ ०५ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरीष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयाल, कोशी प्रदेश प्रहरी तालिमकेन्द्र विराटनगरका प्रहरी वरीष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया लगायतका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुले, गायन, कविता, मुक्तक तथा आफ्ना अनुभवहरु सहितको प्रतिभाहरु प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि खनालले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न, सामूहिक भावनाको विकास गर्न, प्रहरी कार्यशैलीमा शिष्टता र सम्मानभाव अभिवृद्धि गर्न तथा सकारात्मक वातावरण निर्माण गर्न यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले व्यस्त व्यावसायिक जीवनशैली र कार्यबोझका कारण प्रहरी कर्मचारीबीच कायम रहनुपर्ने आपसी भ्रातृत्व, शिष्टाचार तथा सद्भावपूर्ण वातावरणलाई थप सुदृढ बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । साथै, कार्यक्रमले तनाव व्यवस्थापनसँगै ऊर्जावान प्रहरी कर्मचारीहरु भित्र रहेका प्रतिभा प्रस्फुटन गराउन र आपसी भावना तथा अनुभव आदानप्रदान गर्न मद्दत मिलेको बताउनु भयो । कार्यक्रममा बिधि विज्ञान प्रयोगशाला धरानका प्रहरी उपरीक्षक सुदन कुमार बिष्ट सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।