प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण

२०८३-०४-२५

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । साउन २५ गते निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा उहाँले प्रहरी आफैं समस्याको कारक नभई समाधानको माध्यम बन्नुपर्छ भन्ने उद्धेश्यका साथ जनसेवामा समर्पित हुन निर्देशन दिनु भएको छ । उहाँले कानुन र Chain of Command को पुर्ण पालना गर्दै सामाजिक सञ्जालको मर्यादित प्रयोग र सूचनाको गोपनीयता कायम राख्दै  कसैको दबाब, प्रभाव वा प्रलोभनमा नपरी पारदर्शी रूपमा प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । सीमा क्षेत्रमा अवैध चोरी–निकासी, पैठारी र लागूऔषध नियन्त्रणका लागि कडाइका साथ चेकजाँच तथा अपरेसन सञ्चालन गर्न, पेण्डिङ मुद्दा फर्छ्यौट, साइबर अपराध, अनलाइन ठगी, स्क्यामिङ, बेटिङ र हुण्डीजस्ता अपराध नियन्त्रणमा प्रभावकारी भुमिका निर्वाह गर्न र सामाजिक सञ्जालबाट अफवाह फैलाउनेमाथि कडा निगरानी सहित कानुनी कारबाही गर्न निर्देशन दिनु भएको छ । साथै उहाँले समुदाय-प्रहरी साझेदारी कार्यक्रमहरु मार्फत आम नागरीकहरुसंग सद्भाव र भाइचारा अभिवृद्धि हुने गरी सचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिन, सवारी दुर्घटना न्यूनीकरण गरी ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन,  आगामी दिनमा विराटनगरमा हुने राधाकृष्ण रथयात्राको सुरक्षा व्यवस्था तथा आपराधिक गतिविधि नियन्त्रण गर्न थप सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिनुभयो । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख खनाललाई जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले मोरङ जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको  बारेमा अवगत गराउनु भएको थियो ।


सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८३-०५-२६

झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । झापाको बाह्रदशी गाउँपालिका-१ खैरबारी स्थितबाट अस्थायी प्रहरी चौकी कुटिबाट खटिएको प्रहरी टोलीले को ३१ प ६१६० नम्बरको मोटरसाईकलमा सवार चालक बिर्तामोड नगरपालिका-३ का २९ वर्षिय गणेश राजवंशी र पछाडी सवार २३ वर्षिय विश्वजित राजवंशीलाई ब्राउन सुगर ३ ग्राम ६५ मिलिग्राम सहित पक्राउ गरिएको छ भने मोरङको इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका-४ का २३ वर्षिय बिकास राई र सोही स्थानका २० वर्षिय सबिना लिम्बुलाई ३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

१० लाख भन्दा बढीको अवैध सामान बरामद
२०८३-०५-२६

झापा र सुनसरी जिल्लाका छुट्टा छुट्टै दुई स्थानबाट भन्सार छलीका १० लाख भन्दा बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ । भदौ २५ गते गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका-१० फाल्गुनन्द चोक स्थितमा प्रदेश ३-०१-०२३ च २४७५ नम्बरको मारुती कार्गो (ईको) भ्यानमा अवैध रुपमा भन्सार छली गरी ल्याउदै गरेका बिभिन्न प्रकारका कपडाहरु र भ्यान सहित ९ लाख २९ हजार १ सय रुपैँया बराबरको सामान बरामद गरे संगै गाडी चालक भद्रपुर नगरपालिका-५ का ३० वर्षीय राकेश लिम्बुलाई नियन्न्त्रणमा लिई आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंज सुनसरीले बर्जु गाउँपालिका-२ स्थितबाट  प्र.१-०४-००१ प ९३३२ नम्बरको मोटरसाईकलमा अवैध रुपमा भन्सार छली गरी ल्याएको कुर्ता सुरुवाल समेत गरी १ लाख ३२ हजार बराबरको सामान बरामद गरेको छ ।

बिभिन्न मुद्दाका १४ जना फरार प्रतिबादीहरु पक्राउ
२०८३-०५-२६

मोरङ, सुनसरी र धनकुटाबाट बिभिन्न मुद्दाका १४ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरीएको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले भदौ २५ गते मोरङबाट ९ जना, सुनसरीबाट ४ जना, र धनकुटाबाट १ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । बिभिन्न अपराधमा संलग्न रहेर अदालतबाट दोषी ठहर भई फरार रहेका उनिहरुलाई पक्राउ गरी कैद भुक्तानको लागी कारागार पठाएको छ । पक्राउ परेकाहरुबाट ७ बर्ष ५ महिना कैद सजाय  र १ लाख १७ हजार ३ सय ६७ रुपैयाँ जरिवाना रकम असुल उपर भएको छ ।

१०१ किलो ६४० ग्राम गाँजा सहित ५ जना पक्राउ
२०८३-०५-२६

उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितबाट १ सय १ किलो ६४० ग्राम लागू औषध गाँजा सहित ५ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । भदौ २५ गते त्रियुगा नगरपालिका-६ स्थितमा प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले गाईघाटबाट कदमाहा तर्फ जादै गरेको २ वटा यात्रु वाहक विङगर गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको छतमा प्लास्टिकमा प्याक गरी झोलामा लुकाई छिपाई राखेको  १ सय किलो १६४ ग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न संकित ५ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।

गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०५-२५

भोजपुर र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । भदौ २४ गते सम्बन्धित एरिया इलाकाहरुबाट खटिएको प्रहरी टोलीले उदयपुरको ताप्ली गाउँपालिका र कटारी नगरपालिकाको बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोट तथा बेर्नाहरु करिव १ हजार २६० वटा फडानी गरी नष्ट गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरको प्रहरी टोलीले भोजपुरको हतुवागढी र आम्चोक गाउँपालिकाको पाखाबारीहरुमा करिव ३ रोपनी क्षेत्रफलमा रहेको करिव ८५० वटा गाँजाको नाभो बोटहरु फडानी गरि जलाई नष्ट गरेको छ ।