प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

Hospitality management Training को उद्‍घाटन

२०८३-०१-१०

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले Hospitality management (आतिथ्य व्यवस्थापन) सम्बन्धी विशेष तालिम संचालन गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजना तथा रत्ना होटल विराटनगरको समन्वय र सहकार्यमा वैशाख १० गतेबाट रत्ना होटलमा संचालन भएको उक्त तालिमको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे तथा रत्ना होटल विराटनगरकी प्रवन्ध निर्देशक जिना थापाले संयुक्त रूपमा उद्‍घाटन गर्नु भएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधनको क्रममा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले तालिमले प्रहरी कर्मचारीहरूको व्यवहारिक ज्ञान अभिवृद्धि गर्नुका साथै सेवा प्रवाहको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै यस्ता तालिमहरूले प्रहरी कर्मचारीहरूलाई सेवाग्राही मैत्री, अनुशासित तथा पेशागत रूपमा अझ सक्षम र दक्ष बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै प्रहरी कर्मचारीहरूको व्यवसायिक दक्षता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न आवश्यक समन्वय र सहकार्य प्रदान गरेकोमा होटल रत्नालाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रवन्ध निर्देशक जिना थापाले होटल तथा पर्यटन क्षेत्रको व्यावहारिक अनुभव प्रहरीसँग साझेदारी गर्न पाउँदा खुशी लागेको बताउँदै आतिथ्य व्यवस्थापन सम्बन्धी सीपले सेवामूलक क्षेत्रमा काम गर्ने प्रहरी जनशक्तिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । २१ कार्य दिन अवधिको उक्त तालिममा २० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ ।

तालिम उद्‍घाटन कार्यक्रममा प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको साथै होटलका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न
२०८३-०६-०७

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनाल तथा कोशी प्रदेश अन्तर्गत रहेका १४ वटै जिल्ला प्रहरी प्रमुखहरूका साथै प्रदेश अन्तर्गतका अन्य मातहत कार्यालय प्रमुखहरू बीच आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । साथै नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यू र कोशी प्रदेश प्रहरी प्रमुख बीच आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएको वार्षिक कार्य सम्पादन सम्झौतामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ८६.३६ प्रतिशत लक्ष्य हासिल गरी सर्वोत्कृष्ट प्रदेश प्रहरी कार्यालय हुन सफल भएको छ भने कोशी प्रदेश प्रहरी प्रमुख र कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरु बीच आर्थिक वर्ष २०८२/०८३ मा भएको वार्षिक कार्य सम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय संखुवासभाले ९४.३८ प्रतिशत लक्ष्य हासिल गरी सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय हुन सफल भएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय भोजपुरले ९१.८१ प्रतिशत लक्ष्य हासिल गरी दोस्रो, जिल्ला प्रहरी कार्यालय धनकुटाले ९१.४८ प्रतिशत लक्ष्य हासिल गरी तेस्रो र क्रमशः खोटाङले ९१.०५ प्रतिशत, पाँचथरले ९०.७९ प्रतिशत, सोलुखुम्बुले ९०.०४ प्रतिशत, ताप्लेजुङले ८९.९१ प्रतिशत, मोरङले ८९.८६ प्रतिशत, उदयपुरले ८९.५९ प्रतिशत, सुनसरीले ८९.१३ प्रतिशत, झापाले ८६.९४ प्रतिशत, तेह्रथुमले ८६.१० प्रतिशत, इलामले ८४.५१ प्रतिशत र ओखलढुंगाले ८३.८३ प्रतिशत लक्ष्य हासिल गरेका छन् ।गत आर्थिक वर्ष २०८२/०८३ मा जिल्ला प्रहरी कार्यालयहरुको वार्षिक प्रगति औसत ८९.२५ प्रतिशत र मातहत अन्य प्रहरी कार्यालयहरुको वार्षिक प्रगति औसत ९८.१४ प्रतिशत साथै समग्रमा औसत प्रगति ९३.६९ प्रतिशत रहेको छ ।कार्य सम्पादन करारमा हस्ताक्षर सम्पन्न भए पश्चात् प्रहरी नायब महानिरीक्षक खनालले मातहत जिल्ला प्रहरी कार्यालय तथा अन्य कार्यालयका प्रमुखहरुलाई शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान, विपद व्यवस्थापन, प्रहरी आचरण र व्यवहार, ट्राफिक व्यवस्थापन लगायतका विषयहरुमा आवश्यक निर्देशन समेत दिनुभयो ।

ब्राउन सुगर सहित २ जना पक्राउ
२०८३-०६-०७

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । असोज ६ गते विशेष सूचनाको आधारमा परिचालित प्रहरी टोलीले प्रदेश १-०२-०५५ प ४६६ नम्बरको स्कुटरमा सवार धरान-१२ का सुनिल क्षेत्री र धरान-१९ का रुदिन भूजेललाई चेकजाँच गर्ने क्रममा सुनिल क्षेत्रीले मलद्वारमा लुकाई राखेको ब्राउन सुगर ५ ग्राम २८० मिलिग्राम बरामद गरेको थियो । प्रतिवन्धित लागूऔषध ब्राउन सुगर बरामद भएसंगै दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

लागूऔषध गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा
२०८३-०६-०७

सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरा स्थित कोशी लोकमार्गबाट ४ सय ५० किलोग्राम गाँजा बोकेको बा.२ च ९५७३ नम्वरको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । असोज ६ गते राती प्रहरी चौकी तरहराबाट  गस्तीमा खटिएको प्रहरी टोलीले कोशी लोकमार्गमा रोकी राखेको बा.२ च ९५७३ नम्वरको एम्बुलेन्सलाई शंका लागी चेकजाँच गर्ने क्रममा एम्बुलेन्स भित्र १५ वटा प्लास्टिकको पोको बनाई राखेको ४ सय ५० किलोग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भएसंगै उक्त एम्वुलेन्स नियन्त्रणमा लिएको छ भने ओसार पसारमा संलग्न चालकको खोजी कार्य भईरहेको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०६-०६

सुनसरी, धनकुटा  र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट असोज ५ गते लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-६ स्थितबाट सोही स्थानकी अन्सु राईलाई ७ किलो ५०० ग्राम लागू औषध गाँजा सहित, इलाका प्रहरी कार्यालय धरानले  धरान उप-महानगरपालिका-१६का २४ वर्षिय कबिर सहनी, धरान-१४ का सुनिल दाहाल र धरान-१३ का सुचम्वर राईलाई १ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर र बिभिन्न प्रकारका प्रतिबन्धित औषधी १ हजार २०४  ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी धनकुटाको प्रहरी चौकी अखिसल्लाले शहिदभुमी गाउँपालिका-७ का २१ वर्षिय प्रगत राईलाई ट्रामोल-२९० क्याप्सुल र स्पास्पेन-२९० क्यापसुल सहित, प्रहरी चौकी मुलघाटले भोजपुर टेम्केमैयुङ गाउँपालिका-१ का २२ वर्षिय भोला राई र भोजपुर नगरपालिका-६ का २४ वर्षिय प्रविन राईलाई १ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरले बेलका नगरपालिका-४ स्थितबाट बा ६२ प ११८२० नम्बरको मोटरसाईकललाई संका लागी चेकजाँच गर्दा २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर र नाट्राजेपाम २० ट्याव्लेट र ट्रामाडोल १५१० क्याप्सुल प्रतिबन्धित औषधि फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध गाँजा बेचविखनमा संलग्न १ जना पक्राउ
२०८३-०६-०६

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT र इलाका प्रहरी कार्यालय धरानबाट परिचालित प्रहरी टोलीले लागू औषध बेचविखनमा संलग्न १ जनालाई पक्राउ गरेको छ । असोज ५ गते अपरान्ह धरान-१४ बिजयपुर डाँडा स्थितमा लागू औषध गाँजा बेचविखन भईरहेको भन्ने सुचनाको आधारमा परिचालित प्रहरी टोलीले भोजपुर घर भई बिजयपुर डाँडा स्थितमा कोठा भाडा लिई बस्दै आएका २३ बर्षीय रितेश राईको कोठा खानतलासी गर्दा  ६३० ग्राम लागू औषध गाँजा, डिजिटल तराजु १ थान  र गाँजा बेचबिखन गरेको अबैध रकम ८ लाख ८७ हजार ७ सय रुपैंया बरामद गरेको थियो । गाँजा सहित पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।