प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दुई दिवसीय प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न ।

२०८१-०२-२८

  • A
  • A-
  • A+
Share

मोरङको बिराटनगर स्थित बिग होटलमा दुई दिवसीय प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा कोशी प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न भएको हो । कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता तथा गृह सचिव एक नारायण अर्यालको अध्यक्षतामा जेष्ठ २७ गतेबाट संचालन भएको उक्त गोष्ठीको माननीय उपप्रधान तथा गृह मन्त्री रवी लामिछानेले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।


प्रदेश स्तरिय सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय उप-प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले शान्ती सुरक्षा तथा अपराध नियन्त्रणका लागी भावी रणनिती बनाएर काम गर्नु पर्ने साथै शान्ति सुरक्षा तथा बिकास निर्माण कार्यको लागि तीनवटै सरकार आपसमा समन्वय र सहकार्य गरी अगाडि बढनु पर्ने बताउनु भएको थियो । वहाँले बैदेशिक रोजगारीको प्रलोभन दिएर गरीने ठगी नियन्त्रण गर्न, भन्सार चोरी निकासी, कालोवजारी, गुण्डा गर्दी, भ्रष्टाचार नियन्त्रणका लागि दत्त चित्त भई लागि पर्न निर्देशन दिनु भएको थियो ।  वहाँले बिपद व्यवस्थापनका लागि उपलव्ध श्रोत साधन सहित तयारी अवस्थामा रहन, अपराध नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण, आत्महत्या न्युनिकरण तथा लागुऔषध दुर्व्यसनि नियन्त्रणका लागि सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गरी सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न जोड दिनु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम गर्नको लागि गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, भन्सार छलि, राजस्व चुहावट जस्ता गतिविधि नियन्त्रण गर्न जिम्मवार निकायहरूले आ-आफ्नो स्थानबाट सक्रिय रूपमा दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । वर्दी लगाएको प्रहरी जहाँ उभिन्छ त्यहाँ सरकारको प्रतिनिधित्व भइरहेको हुने चर्चा गर्दै उहाँले समस्या परेको बेला नागरिक पहिला प्रहरी समक्ष पुग्ने हुँदा उनीहरूको बिनम्रताका साथ गुनासो सुनुवाई गर्नुपर्ने बताउनुभयो । लागू पदार्थ दुर्व्यसन यस प्रदेशको ठूलो समस्याकोरुपमा देखा परेकोले यसको नियन्त्रणका लागि सबैले आ-आफ्नो स्थानबाट सक्रिय भुमिका निर्वाह गर्नु पर्ने र विशेष अभियानका साथ स्कुल प्रशिक्षण तथा सचेतानमूलक कार्यक्रमहरु संचालन गर्न सरोकारवाला निकायहरुलाई आह्वान समेत गर्नु भयो ।
कार्यक्रममा गृह सचिव एकनारायण अर्यालले गोष्ठीमा भएको प्रस्तुतीकरण एवम् छलफलले एक आपसमा भएका असल अभ्यासको आदान प्रदान गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नु हुदै बिगतमा भएका कमि कमजोरीहरुबाट पाठ समेत सिक्नु पर्ने बताउनु भयो ।  मानब बेचबिखन, लागूऔषध ओसारपसार, भन्सार छली, चोरी तस्करी जस्ता अवैधानिक गतिविधि नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले मन, वचन र कर्मले काम गर्नु पर्नेमा जोड दिनुभयो । राष्ट्र सेवक कर्मचारीले सेवाग्राहीको समस्या, गुनासोलाई सुनुवाई गरी समयमै सामाधान गर्न र सुरक्षा चुनौतिको निराकरण र समाधानका लागि जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूले  निर्धक्कताका साथ आफ्नो अधिकारको प्रयोग गर्न समेत उहाँले निर्देशन दिनु भयो ।
गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र साँस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्ष्म, अब्बल र व्यावसायिक रूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । केन्द्रीय र प्रदेश स्तरबाट प्रभावकारी एवम् कुशल समन्वय र सहकार्य गरी कोशी प्रदेशको शान्ति सुरक्षा थप मजबुत बनाई व्यावसायिक तथा सक्ष्म प्रहरी सेवा प्रवाह गराउन र कानूनको निष्पक्ष कार्यान्वयन गरी विकासमैत्री वातावरण सृजना गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले कानूनी राज्यको सुनिश्‍चितता गर्न प्रहरी सेवा अपरिहार्य रहेको चर्चा गर्दै विद्यमान कानूनी क्षेत्रहरूमा समयानुकुल परिमार्जन गर्दै लैजान र प्रहरीलाई हातहतियार भन्दा पनि कानूनी अधिकारहरूले सुसज्जित गर्न समय सान्दर्भिक रहने बताउनुभयो । विधिको शासनलाई अझ सशक्त बनाउने, आम नागरिकलाई न्यायको प्रत्याभूति दिलाउने, राज्यले प्रदत्त गर्ने सेवाहरूमा सबैको पहुँच सुनिश्‍चित गर्ने एवम् देश र समाजको दिगो विकास प्राप्तिमा नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गर्दै समग्र प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य सम्पादन गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई उहाँले निर्देशन दिनुभयो ।
उक्त गोष्ठीमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारी, नेपाली सेनाका रथी अशोकराज सिग्देल क्षेत्री, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, गृह मन्त्रालयका सह-सचिवहरू नारायण प्रसाद भट्टराई, भीष्म कुमार भूसाल र थानेश्‍वर गौतमले आ-आफ्नो भनाई राख्नु भएको थियो ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कोशी प्रदेशको समग्र विद्यमान सुरक्षा अवस्थाको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । यसै गरी कोशी प्रदेश अन्तर्गतका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।  उक्त गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशका प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, १४ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार
लागूऔषधसहित ३ जना पक्राउ
२०८३-०६-२५

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागूऔषध तथा प्रतिबन्धित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ। असोज २४ गते मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले धनकुटाको सहिदभूमि गाउँपालिका–२ की २२ वर्षीया मुस्कान राईलाई १ किलो १८ ग्राम गाँजासहित पक्राउ गरेको छ। त्यसैगरी, सुनसरीको वडा प्रहरी कार्यालय इटहरीले इटहरी उपमहानगरपालिका–९ का १९ वर्षीय रिकेश चौधरीलाई ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने प्रहरी चौकी खनारले इटहरी–१३ का २७ वर्षीय सुनिल सरदारलाई नाइट्राजेपामका १२६ ट्याब्लेटसहित पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०६-२४

 सुनसरी र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरीएको छ । असोज २३ गते राती मोरङको रंगेली नगरपालिका-८ स्थितबाट को २ ह ४१८२ नम्बरको ई-रिक्साको सिट मुनि लुकाई छिपाई राखेको १० ग्राम १०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित चालक कानेपोखरी-७ का २१ वर्षीय अर्पन जोगी र सवार पथरी सनिश्चरे-१ का रोसन बिश्वकर्मा, रितेश लिम्बुलाई पक्राउ गरेको हो । यसैगरी मोरङको विराटनगर महानगरपालिका-१६ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त प्रहरी टोलीले को ३१ प २४७७ नम्बरको मोटरसाईकल चालक लेटाङ नगरपालिका-५ का ३० वर्षीय विशेष मगरलाई २ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ बसचोक स्थितबाट केराबारी गाउँपालिका-३ का २४ बर्षीय सुमन राईलाई १ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर सहित र ईटहरी उप-महानगरपालिका-२ का ३२ बर्षीय भविन प्रधान, ३० बर्षीय रबिन कुमार प्रधान इटहरी-३ का ३१ बर्षीय मुकेन्द्र कुमार राईलाई ६ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

बिभिन्न मुद्दाका १५ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२४

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १५ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २३ गते मोरङबाट ६ जना, झापाबाट ८ जना र सुनसरीबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ४ वर्ष १ महिना ७ दिन कैद सजाय र ४ करोड ७ हजार ८ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

बिभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२३

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २२ गते मोरङबाट १ जना, झापाबाट १ जना, सुनसरीबाट २ जना, भोजपुरबाट १ जना र इलामबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट २ वर्ष ६ महिना २५ दिन कैद सजाय र ६८ हजार ४ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।  

लागू औषध सहित १५ जना पक्राउ
२०८३-०६-२३

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित १५ जनालाइ पक्राउ गरिएको छ । असोज २२ गते सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाले उदयपुर चौढण्डीगढी नगरपालिका-३ का नरेश राई, अनुश मगरलाई डाईसाईक्लोमाइन १३९० ट्रयाब्लेट, ट्रामाडोल १३९० क्याप्सुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा झापाको इलाका प्रहरी कार्यालय दमकले दमक-७ का आशिस कुमार तामाङ, शशिष कुमार तामाङ, समिर मल्लिक, पुजन सुन्दास र काठमाडौं तार्केशोर नगरपालिका-११ का समिर क्षेत्रीलाई १ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर र ट्रामोल-२७ क्याप्सुल सहित र दमक-७ का राज गौतम र लक्ष्मी शंकरलाई ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले भोजपुरको षडानन्द नगरपालिका-७ का सुर्य दर्जीलाई १ ग्राम २८० मिलिग्राम ब्राउनसुगर सहित, अस्थायी प्रहरी चौकी सोमबारेले बेलबारी नगरपालिक-६ का राहुल राईलाई ९ ट्याब्लेट प्रतिबन्धित औषधी सहित, इलाका प्रहरी कार्यालय लौकहीले दुहबी नगरपालिका- ५ का शिशिर कुँवरलाई ४२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले ईटहरी-१७ की जैमुल खातुनलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले धरान-२० का बिशाल राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय मायागंजले धनपालथान गाउँपालिका-३ स्थितमा बेवारिसे अवस्थामा २४ किलो ७१० ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।