प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना १ जनाको मृत्यु ३ जना घाईते

२०८०-०८-१२

  • A
  • A-
  • A+
Share

झापाको गौरादह नगरपालिका- २ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आज दिउँसो १२ बजे गौरादह गौरीगंज सडक खण्डमा उतरबाट दक्षिणतर्फ जादै गरेको सिटिलाई सोही दिशातर्फ जादै गरेको पिकअप गाडीले ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका सिटि चालक स्थानीय ५२ बर्षीय रघुनाथ काफ्लेलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा उनको बाटोमै मृत्यु भएका हो । दुर्घटनामा परी घाईते भएका सिटीमा सवार गौरादह- ३ की ५५ बर्षीया रामा नेपाल र ४४ बर्षीया मेनुका भण्डारीको म्याडिम्याक्स अस्पताल गौरादहमा उपचार भई रहेको छ भने पिकअप चालक गौरीगंज - ८ का २६ बर्षीय राजेश महतोको दमक अस्पताल दमकमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय गौरदहले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

 

सम्बन्धित समाचार
लागू औषध विरुद्दको महाअभियानको शुभारम्भ
२०८३-०२-१०

जिल्ला प्रहरी कार्यालय मोरङले लागू औषध विरुद्दको महाअभियान (Mega Campaign Against  Narcotics- Mega CAN ) २०८३ कार्यक्रमको शुभारम्भ गरेको छ । जेठ १० गते बिहान लागू औषध विरुद्दको महाअभियानमा लागूऔषध दुर्व्यसन मुक्त समाज निर्माण गर्ने साझा उद्धेश्यका साथ लागूऔषध विरुद्दको सचेतना मुलक प्ले कार्ड सहित विराटनगरको महेन्द्र चोकबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, विभिन्न सरकारी कार्यालय, बिभिन्न संघ संस्था, संचारकर्मी, स्काउट, विद्यार्थी, युवा बर्ग सहितको प्रभातफेरी कार्यक्रमको प्रतिनिधि सभाका माननीय सांसद आशा झाले  रिवन काटी शुभारम्भ भएको प्रभातफेरी जलजला चोक, गोल्छामोड हुँदै  रंगशालामा पुगी पहिलो चरणको कार्यक्रम सम्पन्न भएको थियो ।उक्त कार्यक्रम दोश्रो चरणमा विराटनगर महानगरपालिका-४ स्थित होटल मनास्लु इनमा  कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पानसमा दिप प्रज्वलन गरेर बिधिवतरुपमा लागूऔषध विरुद्दको महाअभियान कार्यक्रमको शुभारम्भ भएको थियो । कार्यक्रममा अन्धकारबाट उज्यालोतर्फ शीर्षकमा नाटक सहित लागू औषध विरुद्द सचेतनामुलक सांगितिक प्रस्तुतिहरुका साथै पूर्व लागू औषध प्रयोगकर्ता कपिलदेव आचार्यको अनुभव सहितको बृतचित्र प्रस्तुत गरी लागूऔषध बिरुद्ध सवैले आ-आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाई लागू औषध मुक्त समाज निर्माण गर्न आह्वान गरिएको थियो । कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागू औषध दुर्व्यसन समाजका लागि गम्भिर समस्या बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक तथा युवाहरुको सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालय मोरङद्वारा सञ्चालित लागूऔषध विरुद्धको महाअभियानले समाजमा सकारात्मक सन्देश तथा चेतना फैल्याई युवापुस्तालाई कुलतबाट जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै यस्तो अभियानमा प्रदेश सरकारको निरन्तर साथ, सहयोग र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रमलाई सम्बोधनको क्रममा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षित समाज र उज्ज्वल भविष्यको निम्ति जिल्ला प्रहरी कार्यालय मोरङले जिल्लालाई लागू औषधमुक्त जिल्ला बनाउन सवैको सहकार्यका साथ पुर्वको विराटनगरबाट सुरुवात गरेको महाअभियान लागूऔषध विरुद्ध सक्रिय हुँदै देशव्यापीरुपमा अघि बढ्न सफल हुने बताउनु भयो । वहाँले समाजलाई अन्धकार तर्फ धकेल्दै आएको लागू औषधको जालोलाई तोड्न शुभारम्भ गरीएको अभियानले नेपाली समाजका उर्जावान युवाहरुलाई सक्रियताका साथ अभियानमा लागी परेको देख्न पाईने अपेक्षा राख्नु भयो । क्षणिक रमाईलोकोलागी लागू औषधको कुलतमा फसेका युवाहरुलाई यस्ता प्रकारका अभियानहरुको शुरुवातले अनिवार्य उत्प्रेरणा मिल्ने बताउनु भयो ।    उहाँले लागू औषध नियन्त्रण केवल प्रहरीको मात्रै दायित्व नभई परिवार, विद्यालय, स्थानीय तह, सञ्चारमाध्यम तथा सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको बताउँदै सबै पक्षको सहकार्यबाट मात्रै स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माण सम्भव हुने बताउनु भयो । कार्यक्रममा कोशी प्रदेश सरकारका माननिय आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्र मणि पराजुली, प्रतिनिधी सभाका माननिय सांसद शन्तोष राजबंशी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, नेपाल सरकार गृह मन्त्रालय निति, योजना अनुगमन तथा मुल्याङकन महाशाखाका सह सचिब एंव लागू औषध नियन्त्रक सुमन घिमिरे, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार लीलावल्भ घिमिरे,एबिसी नेपाल कोशी प्रदेश प्रमुख विष्णु शर्मा लगायतले लागूऔषध बिरुद्धको ऐक्यवद्दता सहितको मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले लागूऔषध बिरुद्ध सवैले ऐक्यवद्दताका साथ अगाडि बढ्नु पर्ने बताउदै प्रमुख अतिथि लगायत उपस्थित सबैमा धन्यवाद ज्ञापन सहितको मन्तव्य राख्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक कबित कटवालले महाअभियानको औचित्य, उदेश्य तथा मोरङ जिल्लामा लागू औषध दुर्ब्यसनको वर्तमान अवस्था र चुनौतीबारेमा प्रस्तुतीकरण गर्नु भएको थियो भने कोशी अस्पतालकी डाक्टर अजिता पौडेलले लागू औषध दुर्ब्यसनका कारण मानव स्वास्थ्यमा पर्ने असरको बारेमा सचेतना प्रदान गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, विशिष्ट अतिथि, बिशेष अतिथि लगायत अन्य महानुभावहरुले लागू औषध नियन्त्रणकालागी तयार गरीएको ९ बुँदे प्रतिबद्दता पत्रमा हस्ताक्षर गर्दै अभियानमा ऐक्यबद्धता जनाउनु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र प्रसाद पौडेल, मोरङ जिल्ला स्थित नगरपालिकाका प्रमुखहरु, गाउँपालिकाका प्रमुखहरु, पूर्वी पृतना हेड क्वाटर इटहरीका उपरथी, उच्च अदालत विराटनगरका माननीय न्यायाधिसहरु, प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुखहरु,  विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, उद्योग वाणिज्य संघहरुका प्रमुख तथा प्रतिनिधी हरु, बैङ्क, वित्तिय संस्था, बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी कार्यालय, संघ संस्था, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, खेलाडी, नागरीक समाज, बुद्दिजिवी, लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।    

प्रदेश प्रहरी प्रमुखद्वारा मातहत प्रहरी प्रमुखहरुसंग Virtual माध्यमद्वारा कार्य सम्पादनको समिक्षा
२०८३-०२-०८

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले कोशी प्रदेश अन्तरगत रहेका मातहत प्रहरी प्रमुख हरुसंग भर्चुअल माध्यमद्धारा दश महिनाको कार्य सम्पादनको समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ । जेठ ८ गते भएको समिक्षामा कार्यसम्पादन सम्झौता बमोजिम श्रावण महिना देखि वैशाख महिना सम्म प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्य प्रगति बिवरण सम्बन्धि समिक्षा भएको थियो । कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले १४ वटै जिल्लाहरुको कार्यसम्पादनको तुलनात्मक प्रस्तुति गर्नु भएको थियो । vसमिक्षामा प्रदेश प्रहरी प्रमुख घिमिरेले फरार प्रतिवादी पक्राउ, पेण्डिङ मुद्दा तथा चालु मुद्दाको फछर्यौट तथा सम्पादन गर्न बाँकी रहेका कार्यलाई प्राथमिकाता साथ तोकिएको समय सिमा भित्र प्रभावकारीरुपमा सम्पादन गरी लक्ष हासिल गर्न निर्देशन दिनु भएको छ । v कार्य सम्पादन सम्झौतामा उल्लेख भएका बुँदाहरु अनिवार्य कार्यान्वय गर्नु पर्ने, सम्पुर्ण प्रहरी कर्मचारीले बिभागिय आदेश निर्देशनको पुर्णरुपमा पालना गरी कार्यान्वयन गर्ने, सरुवा भएका प्रहरी कर्मचारीहरुको रवना कार्यान्वयन विशेष प्राथमिकताका साथ गर्ने, नागरिकको समस्याहरुमा अग्रणी भुमिका निर्वाह गर्ने, सामाजिक संजालको सहि उपयोग गर्ने, मनसुन जन्य विपदमा परिचालन हुन तयारी रहने, भन्सार छली, चोरी तस्करी नियन्त्रण गर्न तथा अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा स्थापित गर्न निर्देशन दिनु भएको छ ।   

नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण
२०८३-०२-०८

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जेठ ८ गते नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यालय, सम्पुर्ण शाखा तथा कक्षा कोठाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई अभिभावकको बिश्वास र भरोसा बोकेका बिद्यार्थीहरुको रेखदेखलाई पहिलो प्राथामिकता दिई शान्तमय वातावरणमा अध्ययन गर्ने अधिकारको शुनिश्चितता प्रदान गर्न निर्देशन दिनु भएको छ । वहाँले शिक्षकहरु छलफल तथा अन्तरक्रियाको क्रममा सौहार्दपुर्ण वातावरणमा विधार्थीहरुलाई अध्यापन गराउन र गुणस्तरीय शिक्षा प्रदान गर्न, शारिरिक ब्यायाम र अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउन अनुरोध गर्नु भएको थियो भने अध्ययनरत बिद्यार्थीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालको समेत उपस्थिति रहेको थियो ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८३-०२-०७

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट जेठ ६ गते लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारी झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-३ स्थितबाट भद्रपुर-२ का २९ वर्षीय दिपेन्द्र ठटाल र ३५ वर्षीय असन राईलाई ६ ग्राम ७० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-४ का ३० वर्षीय इन्द्र भुजेललाई ६४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । साथै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दर हरैचा नगरपालिका-१० का २६ वर्षीय रमेश उरावलाई ६ ग्राम २३ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा बसपार्क स्थितबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।   

लागू औषध सहित १२ जना पक्राउ
२०८३-०२-०६

झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट जेठ ५ गते लागू औषध सहित १२ जनालाई पक्राउ गरिएको छ । सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT, वडा प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही स्थानका जानकी धामी, किरण राई, समिर राई र विशाल राज धामिलाई १५ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी झापाको बिर्तामोड नगरपालिका-५ स्थितमा अस्थायी प्रहरी चौकी बसपार्क अनारमनीले सोही स्थानका रोहित श्रेष्ठ र सुनिल दासलाई ६ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित, वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड नगरपालिका-९ का सौगात बस्नेत र पाचँथर जिल्ला हिलिहाङ गाउँपालिका-३ का आमिङ योङहाङलाई ५ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय सुरुङगाले कन्काई नगरपालिका-३ स्थितबाट सोही स्थानका चन्द्र बहादुर पौडेललाई ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बेलका नगरपालिका-४ का देव कुमार राईलाई ७७० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी नेपालटारले  सिरहा जिल्ला लहान नगरपालिका- १७ की लिलादेवी राम र लहान नगरपालिका- ८ की अस्मिता रामलाई ६ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइ रहेक छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०२-०५

झापा र सुनसरीबाट प्रतिबन्धित लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान पौने १० बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले झापाको विर्तामोड नगरपालिका ५ शनिश्चरे रोड पाथीभरा टोल स्थितबाट विर्तामोड नगरपालिका १ का १९ बर्षीय अभिषेक राईलाई ब्राउन सुगर ११० मिलिग्राम, ASPAM नामक प्रतिबन्धित औषधी ४ ट्याब्लेट सहित र हिजै राती साँढे ९ बजे विर्तामोड नगरपालिका ५ ईन्द्रेणी टोल स्थितबाट ब्राउन सुगर १९० मिलिग्राम सहित कारोबारमा संलग्न सोही स्थानका ३५ बर्षीय हरसिंह राजबंशी, २१ बर्षीय राजु राजबंशी, विर्तामोड नगरपालिका ६ का ४४ बर्षीय सन्तोष कुमार पराजुली र विर्तामोड नगरपालिका ९ का २२ बर्षीय प्रशान्त खड्कालाई पक्राउ गरेको छ । त्यसैगरी हिजो दिउँसो १ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुल स्थितबाट भारतबाट नेपाल तर्फ आउदै गरेको प्र.१-०१-००२ ह ७३१२ नम्बरको सिटी सफारी चालक सोही स्थान भानुटोलका ३८ बर्षीय जिवन घिमिरेलाई ब्राउन सुगर ११ ग्राम २०० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी हिजो राती ८ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाकै दमक नगरपालिका ६ स्थित बसपार्कबाट दमक नगरपालिका १ बस्ने २७ बर्षीया विमला दाहाललाई ब्राउन सुगर ६ ग्राम ८४० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी अस्थाई प्रहरी चौकी बरगाछी धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ८ सम्पाङ चौक स्थितबाट सुनसरी हरिनगरा गाँउपालिका ६ बस्ने २१ बर्षीय अंजक अंसारी र हरिनगरा गाँउपालिका ७ बस्ने १८ बर्षीय अब्दुल वाहिद अंसारीलाई ट्रामाडोल २००० क्याप्सुल र डिकोलिक २००० ट्याब्लेट सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।