प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण

२०७९-१२-२८

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले आज जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउनका साथै सवारी दुर्घटना न्युनिकरण, सवारी नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही र सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन निर्देशन दिनु भयो ।
निर्देशनकै क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गर्न तथा सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्न तथा सदैव प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।
साथै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले मोरङ जिल्लाको समग्र बस्तुस्थितिका बारेमा निमित्त प्रहरी प्रमुख बास्तोलालाई अवगत गराउनु भएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित ९ जना पक्राउ
२०८१-०२-०७

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार बेलुका साढे ६ बजे झापाको बिर्तामोड नगरपालिका- ३ स्थितमा रहेको एक रेष्टुरेण्टमा लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- ५ का २६ बर्षीय कुन्दन कुमार शर्मा र भारतिय नागरीक २३ बर्षीय रोहित मुखियालाई २० ग्राम ४०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी सोही दिन मोरङको रतुवामाइ नगरपालिका-२ स्थित इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री रतुवामाई- ९ का २३ बर्षीय बिशाल थारु चौधरीलाई ट्रामाडोल, स्पास्मो र नाईट्राभेट गरि जम्मा ३५७ ट्याब्लेट नियन्त्रित औषधी सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३३ मिलिग्राम ब्राउनसगुर सहित बिराटनगर- १६ दरैयाबाट बिराटनगर- ११ की ३२ बर्षीया कल्पना राजभण्डारीलाई पक्राउ गरेको हो । त्यस्तै सुनसरीको हरिनगर गाउँपालिका-७ स्थित प्रहरी चौकी घुस्की र अस्थाई प्रहरी चौकी मोतीटप्पुबाट खटिएको प्रहरी टोलीले को. ३८ प ८८९२ र को. १३ प ४२४५ नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट श्रोत नखुलेको नेपाली नगद १० लाख ९ हजार २६० र भारु नगद १३० रुपैया, नियन्त्रित औषधी स्पासमो ३२ पिस गाँजा सहितको चिलिम १ थान र बिभिन्न कम्पनीको मोवाईल ५ थान बरामद गरेसगै मोटरसाईकलमा सवार देवानगंज-२ का २५ बर्षीय रहमान मियां, २४ बर्षीय सफराज मियां, २१ बर्षीय कुन्दन यादव, १९ बर्षीय विकास कुमार यादव र १८ बर्षीय प्रकाश कुमार यादवलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा बोकेको पिकअप सहित १ जना पक्राउ
२०८१-०२-०६

धनकुटाको शहिदभुमी गाउँपालिका-४ खोकु स्थितबाट लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छिन्ताङबाट शनिवार राती ११ बजे खटिएको प्रहरी टोलीले खोकुबाट पिप्ले तर्फ जादै गरेको प्रदेश १-०२-००२ च ६५६१ नम्वरको बलेरो पिकअप गाडीलाई चेक जाँच गर्दा गाडीमा लुकाई छिपाई राखेको १२ बोरा १६० किलोग्राम गाँजा बरामद गरेको हो । गाडीमा गाँजा बरामद भए संगै उक्त गाडीका चालक शहिदभुमी-४ का २७ बर्षीय योगेन राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा १ जना पक्राउ
२०८१-०२-०६

सुनसरीको इटहरी उप-महानगरपालिका-७ का ३३ बर्षीय उमेश चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शनिवार बेलुका साढे ५ बजे इटहरी-७ स्थितमा इटहरी उप-म.न.पा. ००१ ह ०३५ नम्वरको सिटी सफारी र साईकल एक आपसमा ठक्कर लागी दुर्घटना हुँदा सिटी चालक चौधरी र साईकल यात्री इटहरी-७ का २८ बर्षीय भिम भनिने राम कुमार पण्डित बिच सामान्य विवाद भएको र उक्त विवादका क्रममा चौधरीले राम कुमार पण्डितलाई शरिरको बिभिन्न भागमा खुकुरी प्रहार गर्दा पंडितको घटना स्थलमा नै मृत्यु भएको थियो । घटनामा संलग्न चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।