लागूऔषधसहित ८ जना पक्राउ
२०८३-०६-११
- A
- A-
- A+
मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जनालाई पक्राउ गरिएको छ।
असोज १० गते मोरङको विराटनगर महानगरपालिका–३ स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय मोरङको संयुक्त प्रहरी टोलीले इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को.१ च ७३९९ नम्बरको स्कार्पियो गाडीमा ३ सय ९८ किलोग्राम लागूऔषध गाँजा फेला पारेको छ भने चालकको खोजी भइरहेको छ। त्यसैगरी, इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी नगरपालिका–१ का २३ वर्षीय बामदेव दर्जी र २६ वर्षीय सबिन सूर्य मगरलाई १ ग्राम ६ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका–१० का ३१ वर्षीय रोशन उदास सिकर्मीलाई नाइट्रोजेपाम ८२ ट्याब्लेटसहित, जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका–७ का २१ वर्षीय अनुज कुमार सिंहलाई ३ सय ६० मिलिग्राम ब्राउन सुगरसहित तथा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले मोरङको रतुवामाई नगरपालिका–४ का २९ वर्षीय सन्तोष मोक्तान, बराहक्षेत्र नगरपालिका–६ का २९ वर्षीय चन्दन कुमार बहरदार र उदयपुरको त्रियुगा नगरपालिका–३ का २९ वर्षीय दीपक दनुवारलाई ८ ग्राम १ सय १० मिलिग्राम ब्राउन सुगर, एन्टिकफ–३०० ट्याब्लेट प्रतिबन्धित औषधि तथा प्रदेश ०२–०५९ प १२८५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय इटहरीले इटहरी उपमहानगरपालिका–५ का २३ वर्षीय निशान सार्कीलाई ट्रामाडोल १६० क्याप्सुल र स्पास्पेन १६० ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय भण्टाबारीले कोशी गाउँपालिका–७ स्थितमा गस्ती गर्ने क्रममा धान खेतको छेउबाट ३० किलोग्राम गाँजा फेला पारेको छ।
पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ।