लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-१८
- A
- A-
- A+
मोरङ, उदयपुर र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट भदौ १७ गते लागू औषध सहित ७ जनालाई पक्राउ गरीएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय रानी मोरङको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ स्थितबाट १ ग्राम ३७० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित मोरङको केराबारी गाउँपालिका-७ का ३३ वर्षीय कमल राईलाई पक्राउ गरेको छ ।
यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-३ का २६ वर्षीय सावन राईले लागू औषधको कारोबार गर्दै गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले राईको घर खानतलाशी गर्दा ट्रामाडोल १ हजार ४ सय ५४ क्याप्सुल र डाइक्लोमाईन १ हजार ४ सय ५४ ट्याब्लेट बरामद गरे संगै राई र चौदण्डीगढी-६ का २७ वर्षीय शुभ राईलाई पक्राउ गरेको हो ।
यसका साथै इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले धादिङका २७ वर्षीय सुवास अर्याल र सिन्दुपाल्चोकका ३७ वर्षीय बिक्रम कार्कीलाई इटहरी उप-महानगरपालिका-४ स्थितबाट १९ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका-२ का गौतम ऋषिदेव र सुन्दरहरैचा नगरपालिका-७ का २८ वर्षीय अमिन चौधरीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।