लागू औषधसहित ९ जना पक्राउ
२०८३-०४-३०
- A
- A-
- A+
झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ९ जनालाई पक्राउ गरिएको छ ।
साउन २९ गते झापाको बिर्तामोड नगरपालिका-३ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-००२ ह ७८६६ नम्बरको सिटी सफारीलाई शंका लागी चेकजाँच गर्दा बिर्तामोड नगरपालिका-१ का ४० वर्षीय सन्तोष राजवंशीलाई १ ग्राम ५०० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
त्यसैगरी, मोरङको सुन्दरहरैँचा नगरपालिका-५ स्थितबाट प्रदेश अनुसन्धान समूह (PIT) र अस्थायी प्रहरी चौकी बलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही स्थानका २२ वर्षीय प्रशान्त मगरलाई ३९० मिलिग्राम ब्राउन सुगरसहित, इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका-३ का १८ वर्षीय सुरज लिम्बूलाई १०० ग्राम गाँजासहित र इलाका प्रहरी कार्यालय पथरीले कानेपोखरी गाउँपालिका-६ का २४ वर्षीय निमेष घिमिरेलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका-१० स्थितबाट प्रदेश अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त प्रहरी टोलीले इटहरी उपमहानगरपालिका-१० का ४१ वर्षीय मोहन गुरुङ, ४९ वर्षीया कुमारी राई र इटहरी-४ का २३ वर्षीय अर्जुन काफ्लेलाई ५ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर तथा नगद १८ हजार ५० रुपैयाँसहित पक्राउ गरेको छ ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका-८ का २८ वर्षीय मनोज पाण्डे र धरान-१५ का २२ वर्षीय पवन सापकोटालाई ट्रामाडोल ८७० क्याप्सुल, स्पास्पेन ८६५ क्याप्सुल तथा २५० ग्राम गाँजासहित पक्राउ गरेको छ ।
पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।