लागू औषध सहित ९ जना पक्राउ
२०८३-०४-२८
- A
- A-
- A+
झापा, सुनसरी र इलाम जिल्लाको विभिन्न स्थानहरुबाट साउन २७ गते लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ का २३ वर्षिय मानजित करुवालाई ५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरीको धरान उप-महानगरपालिका–१९ स्थितबाट वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान–१० का १७ वर्षिय ईमन तेम्बे र धरान–११ की ३३ वर्षिया अमृत लिम्बुलाई ६६० मिलिग्राम ब्राउन सुगर सहित, जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका–३ स्थितबाट इटहरी उप-महानगरपालिका–२० का ३१ वर्षिय दिपेन्द्र राईलाई ५ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीले धरान–८ का २८ वर्षिय बुद्ध लिम्बु र धरान–८ का २२ वर्षिय साइमन राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल १७० क्याप्सुल, स्पास्पेन १७० चक्की, कोलिवान ५० पिस सहित र लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत बिहारका १९ वर्षिय ईस्मत उल्हालाई ३०४ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसकासाथै इलामको चुलाचुली गाउँपालिका–३ स्थितबाट प्रहरी चौकी पेल्टिमारीले सोही स्थानका २९ वर्षिय अमर राई र २४ वर्षिय बिकास गिरीलाई ५ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।