नेपाल पुलिस स्कुल धरानको निरीक्षण भ्रमण तथा अवलोकन
२०८३-०४-२१
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले साउन २१ गते नेपाल पुलिस स्कुल धरानको निरीक्षण भ्रमण तथा अवलोकनको क्रममा कार्यालयका भवन, क्यान्टिन, पुस्ताकलय, लगायत प्रशिक्षण कक्षा कोठाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा उहाँले प्रहरी सङ्गठनको मूल मर्म अनुसार विद्यार्थीहरूमा उच्च अनुशासन, देशभक्ति, नैतिक मूल्य-मान्यता र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्दै विद्यार्थीहरुको रेखदेख र सुरक्षालाई पहिलो प्राथामिकता दिन, विद्यार्थीहरुलाई सुरक्षित, स्वच्छ र प्रविधियुक्त वातावरण, अतिरिक्त क्रियाकलाप, छात्राबास र मेसको प्रभावकारी व्यवस्थापन मिलाउन तथा अभिभावकसँग निरन्तर समन्वय र सहकार्य गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्ने वातावरण मिलाउन कार्यरत कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
यसका साथै बिद्यालयका प्रिन्सिपल र अन्य शिक्षक शिक्षिकाहरुसंग छलफल तथा अन्तरक्रियाको क्रममा शिक्षा प्रणालीलाई थप समय सापेक्ष, परिस्कृत र प्रयोगात्मक बनाउँदै अभिभावकको चाहना र राष्ट्रको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादनमा नेपाल पुलिस स्कुल एक अनुकरणीय र सफल विद्यालयको रूपमा स्थापित गर्दै सौहार्दपुर्ण वातावरणमा अध्यापन गराउन सबैले सामूहिक रूपमा प्रयास गर्नुपर्ने बताउनुभयो ।
विद्यार्थीसँगको अन्तरक्रियामा उहाँले आजको अनुशासित विद्यार्थी नै भोलिको सफल नागरिक, सक्षम व्यक्ति र राष्ट्रको गौरव हो भन्दै अध्ययनलाई गुणस्तरीय बनाउन, सकारात्मक सोचको विकास गर्न तथा सामाजिक सञ्जालको प्रयोग गर्दा विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो ।साथै कोशी प्रहरी प्रहरी कार्यालय नेपाल प्रहरी स्कुल धरानलाई नेपालकै उत्कृष्ट स्कुलको रूपमा स्थापित गर्न सदैव क्रियाशिल रहने बताउनु भयो ।