कोशी प्रदेश प्रहरी प्रमुखद्वारा तालिम केन्द्र विराटनगरको निरीक्षण, व्यावसायिक प्रहरी उत्पादनमा जोड
२०८३-०४-१८
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले साउन १८ गते कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरको निरीक्षण अनुगमनको क्रममा संगठनको आवश्यकता अनुरूप दक्ष, अनुशासित, सेवामुखी र व्यावसायिक प्रहरी जनशक्ति उत्पादनलाई उच्च प्राथमिकता दिन निर्देशन दिनु भएको छ ।
निरीक्षणका क्रममा खनालले कार्यालय भवन, विभिन्न शाखा, मेस, चमेनागृह, पुस्तकालय, ब्यारेक तथा आन्तरिक एवं बाह्य प्रशिक्षण स्थलको अवलोकन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारी, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनका क्रममा उहाँले तालिम केन्द्र प्रहरी संगठनको आधारशिला भएकाले प्रशिक्षकहरूले अनुकरणीय भूमिका निर्वाह गर्दै नवप्रवेशी प्रहरीहरुलाई व्यावहारिक, अनुशासित र सेवामुखी बनाउन विशेष ध्यान दिनुपर्ने र प्रशिक्षार्थी प्रहरीहरूले पनि संगठनको मर्म, मूल्य–मान्यता र प्रशिक्षकबाट प्राप्त ज्ञान तथा सीपलाई सकारात्मक सोचका साथ ग्रहण गरी दक्ष र सक्षम प्रहरी भई नागरिकको सेवामा समर्पित हुन निर्देशन दिनु भएको छ ।
उहाँले प्रहरी कर्मचारीको आचरण, अनुशासन, इमान्दारिता र सेवामुखी व्यवहार नै संगठनको पहिचान हुने भएकाले प्रत्येक कर्मचारीले उच्च नैतिकता कायम राखी प्रचलित कानुन, नियम तथा संगठनका नीति–निर्देशनको पालना गरी इमान्दारितापूर्वक आ-आफ्नो पदिय दायीत्व निर्वाह गर्न निर्देशन दिनु भएको छ ।
साथै उहाँले नागरिकको सेवामा समर्पित अनुशासित, नैतिकवान् र व्यावसायिक प्रहरी जनशक्ति उत्पादनलाई सर्वोच्च प्राथमिकतामा राखी वर्तमान सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै तालिमरत प्रशिक्षार्थीहरुलाई भीड नियन्त्रण, हातहतियारको सुरक्षित प्रयोग, सिलसिलेवार बल प्रयोगका सिद्धान्त तथा कार्यविधिको अनिवार्य अभ्यास गराउन प्रशिक्षक प्रहरी कर्मचारीलाई निर्देशन दिनु भएको छ । निरीक्षणको क्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।