लागू औषध सहित ७ जना पक्राउ
२०८३-०४-१७
- A
- A-
- A+
झापा, मोरङ, सुनसरी र धनकुटाबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । साउन १६ गते झापाको कनकाई नगरपालिका–२ स्थितबाट इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारत, बिहार राज्य, अररियाका २८ वर्षीय मो. एजवाल र सोही स्थानका २७ वर्षीय अझर अन्सारीलाई ब्राउन सुगर १०२ ग्राम ३१ मिलिग्राम, निटाजिन वर्ग ७ हजार ४५० ट्याब्लेट र ट्रामाडोल ७ हजार २०० क्याप्सुल सहित पक्राउ गरेको छ ।
यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका–१० आदर्श टोलस्थितबाट इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–१ का २७ वर्षीय मिका खत्री र सोही नगरपालिका–१ की २७ वर्षीया बन्दना माखिमलाई ट्रामाडोल १९ क्याप्सुल, डाइसाइक्लोमिन- २८ ट्याब्लेट र नगद १३ हजार ७७५ रुपैयाँ सहित पक्राउ गरेको छ ।
त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–४ पानधारेचोकस्थितबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले मकवानपुरको हेटौंडा उप-महानगरपालिका–२ का २५ वर्षीय अनिश लामालाई ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी धनकुटाको चौबिसे गाउँपालिका–४ स्थितबाट जिल्ला प्रहरी कार्यालय धनकुटाले प्लास्टिकका ४८ वटा बोरामा लुकाई राखिएको ८०४ किलो गाँजा बरामद गरेसंगै छथरजोरपाटी गाउँपालिका–४ घर भई चौबिसे गाउँपालिका–४ मा होटल सञ्चालन गर्दै आएका ४० वर्षीय हरि प्रसाद ओझा र चौबिसे गाउँपालिका–४ का ३४ वर्षीय आशिष विश्वकर्मालाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।