लागू औषध सहित ६ जना पक्राउ
२०८३-०४-१६
मोरङ र झापाबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले सुन्दरहरैंचा नगरपालिका–१२ का २६ वर्षीय प्रेम अछामीलाई १२ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर र प्र.०२–०४८ प ६१३९ नम्बरको स्कुटर सहित पक्राउ गरेको छ ।
यसैगरी मोरङको रतुवामाई नगरपालिका–१० बाट इलाका प्रहरी कार्यालय सिजुवाले उर्लाबारी–आमबारी सडकखण्डमा को १ ख ४३७३ नम्बरको मिनी ट्रकमा लुकाई राखिएको १ हजार ३३ किलो ४८४ ग्राम गाँजा बरामद गर्दै ट्रक चालक धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङलाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी मोरङको लेटाङ नगरपालिका–२ धोबीबाट इलाका प्रहरी कार्यालय लेटाङले सोही स्थानकी २७ वर्षीया प्रमिला लामाको घरमा खानतलासी गर्दा ट्रामाडोल १५० ट्याब्लेट र स्पासपेन १५० ट्याब्लेट फेला पारी पक्राउ गरेको छ ।
त्यस्तै झापाको दमक नगरपालिका–५ आकाशे पुलस्थितबाट इलाका प्रहरी कार्यालय दमकले सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहराका ३४ वर्षीय बुद्ध राई, मोरङको मिक्लाजुङ गाउँपालिका–२ की २३ वर्षीया रोमी लिम्बु र झापाको दमक नगरपालिका–७ का २९ वर्षीय करण मल्लिकको साथबाट २ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर, ट्रामोल ४ हजार ९६० क्याप्सुल र को ३४ प २६८९ र मे ६ प १८२७ नम्बरको स्कुटर सहित तिनैजनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।