नोवेल मेडिकल कलेजद्वारा प्रहरी कर्मचारी तथा आश्रित परिवारको उपचार सेवामा विशेष शुल्क छुट दिने सम्झौता
२०८३-०३-२४
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगर वीच प्रहरी कर्मचारी, पुर्व प्रहरी कर्मचारी तथा निजहरूका आश्रित परिवारका साथै अमर प्रहरीका आश्रित परिवारहरुलाई उपचार सेवामा विशेष शुल्क छुट उपलव्ध गराउने सम्झौता भएको छ । असार २४ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रमा कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको तर्फबाट अस्पतालका निर्देशक प्राध्यापक डाक्टर अशोक कोईराला विच अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत शुल्क छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर कार्यक्रममा बोल्नुहुदै नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्राध्यापक डाक्टर अशोक कोईरालाले नागरिकको सेवामा अहोरात्र अग्रपङ्क्तिमा खटिने प्रहरी कर्मचारी तथा उनीहरूका परिवारको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न अस्पताल सदैव प्रतिबद्ध रहेको बताउदै प्रहरीसंगको सहकार्यलाई अझ सुदृढ बनाई प्रहरी तथा प्रहरीका परिवारजनहरुमा गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ रूपमा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले प्रहरी कर्मचारी तथा आश्रित परिवारहरुलाई उपचारमा छुट सुविधाको उपयोग गरी स्वास्थ्य सेवा लिन अनुरोध समेत गर्नु भयो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नोवेल मेडिकल कलेजले उपलब्ध गराएको विशेष सहुलियत प्रति धन्यवाद व्यक्त गर्दै यस सम्झौताले प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई उपचार सेवामा विशेष राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत यस्ता सहकार्यहरूलाई कोशी प्रदेश प्रहरीले निरन्तरता दिदै जाने बताउनु भयो । उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, नोवेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नविन दाहाल, प्रहरी उपरीक्षकहरु सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।