प्रतिबन्धित लागू औषधसहित ७ जना पक्राउ
२०८३-०३-१७
- A
- A-
- A+
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियानअन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबार तथा प्रयोगमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल ३ हजार ७ सय ९० क्याप्सुल, डाइसाइक्लोमाइन ३ हजार ७ सय ९० क्याप्सुल, १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर, ३ केजी ४ सय ग्राम गाँजा तथा २ थान मोटरसाइकल बरामद गरिएको छ । प्रहरी चौकी आँखिसल्ला धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहीदभूमी गाउँपालिका–७ स्थितबाट प्रदेश १–०२–०५६ प ९४५८ नम्बर र को ३६ प ६१७३ नम्बरका मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा शहीदभूमी–७ का २३ वर्षीय अजित कार्की र १९ वर्षीय उज्वल राईलाई ट्रामाडोल ३ हजार ७ सय ९० क्याप्सुल तथा डाइसाइक्लोमाइन ३ हजार ७ सय ९० क्याप्सुलसहित पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी चारआली झापाले मेचीनगर नगरपालिका–११ स्थितबाट सोही स्थानका २८ वर्षीय आकाश माङ्मु लिम्बु तुम्बापो र २७ वर्षीय देवीप्रसाद बस्नेतलाई १ ग्राम ३१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
यसका साथै लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका–१० का २३ वर्षीय विपुल शेर्पालाई ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।यसका साथै प्रहरी चौकी रमाइलो मोरङबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका–२ की ३२ वर्षीया रुपमनी चौधरी र ४० वर्षीया सोमती कुमारी चौधरीलाई गाईगोठमा लुकाइछिपाइ राखेको ३ केजी ४ सय ग्राम गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।