ब्राउन सुगरसहित २ जना पक्राउ, १२० केजी गाँजा बरामद
२०८३-०३-१३
- A
- A-
- A+
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा लागू औषध ओसारपसार नियन्त्रण अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ४ ग्राम ११० मिलिग्राम ब्राउन सुगर र बेवारिसे अवस्थामा १२० केजी गाँजा बरामद गरेको छ ।
.......................................................................................................................................................
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इलाम चुलाचुली गाउँपालिका-३ का २६ वर्षीय विवेक राईलाई २ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इटहरी उप-महानगरपालिका-१७ कान्छीचोकका २५ वर्षीय निशान कार्कीलाई १ ग्राम २९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यस्तै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT टोली र अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान उपमहानगरपालिका-२० च्यानडाँडा सिरान सामुदायिक वन क्षेत्रबाट बेवारिसे अवस्थामा कालो प्लास्टिकमा प्याक गरिएको १२० केजी गाँजा बरामद गरेको छ ।