लागू औषध सहित १० जना पक्राउ
२०८३-०३-०८
- A
- A-
- A+
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियानअन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबार तथा सेवनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित संयुक्त प्रहरी टोलीले लागू औषधमा संलग्न १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ७ ग्राम १०० मिलिग्राम ब्राउनसुगर, तौल गर्न बाँकी गाँजा, ५९ क्याप्सुल र २९९ ट्याब्लेट प्रतिबन्धित औषधि र नगद ६९ हजार ७२० रुपैयाँ बरामद गरिएको छ ।
.......................................................................................................................................................
चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गा झापाले कन्काई नगरपालिका-४ का २१ वर्षीय हेमबहादुर लिम्बुलाई ३८० मिलिग्राम ब्राउनसुगर, ट्रामाडोल ४५ क्याप्सुल, डाइसाइक्लोमाइन ४४ ट्याब्लेट, नाइट्राजेपाम १३ ट्याब्लेट तथा नगद ४८ हजार १५० रुपैयाँ सहित ,वडा प्रहरी कार्यालय भद्रपुर झापा र सीमा सुरक्षा गुल्म भद्रपुरको संयुक्त टोलीले पाँचथर फिदिम नगरपालिका-१ का १९ वर्षीय नुमसिक लिम्बुलाई ३ ग्राम ५२० मिलिग्राम ब्राउनसुगर सहित, झापा भद्रपुर नगरपालिका-८ स्थितबाट मेचीनगर नगरपालिका-१३ का २३ वर्षीय आशिष गुरुङलाई १ ग्राम ब्राउनसुगर, नगद १९ हजार ५०० रुपैयाँ सहित नियन्त्रणमा लिएको छ ।
यसैगरी प्रहरी चौकी कुशेचौरी मोरङले पथरीशनिश्चरे नगरपालिका-९ का २५ वर्षीय अमन लिम्बु, २१ वर्षीय सन्दिप लिम्बु, पथरीशनिश्चरे -४ का २३ वर्षीय चन्द्र राई र १७ वर्षीय विजय राईलाई १ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको संयुक्त प्रहरी टोलीले इटहरी उपमहानगरपालिका-५ का २८ वर्षीय प्रकाश मादेन र १८ वर्षीय अनमोल सिवालाई ट्रामाडोल १२७ ट्याब्लेट, स्पास्पेन १२७ ट्याब्लेट सहित, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी बिट जोरसखुवा धरानको संयुक्त टोलीले धरान उपमहानगरपालिका-१३ का ३२ वर्षीय माकुने भन्ने राजकुमार तामाङलाई १ ग्राम २०० मिलिग्राम ब्राउनसुगर सहित र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) शाखा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-१ स्थित कोशी नदी किनारमा बाँस र ट्युबमा ९ वटा प्लास्टिकको बोरामा राखिएको १ सय ६८ किलोग्राम गाँजा फेला पारी बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरू उपर सम्बन्धित प्रहरी कार्यालयहरूबाट लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।