प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरीमा प्रविधि मैत्री प्रणालीलाई जोड दिदै शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रविधियुक्त ड्रोन क्यामेराको उद्‍घाटन

२०८३-०१-११

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले मोरङको इलाका प्रहरी कार्यालय लेटाङको निरीक्षण तथा अवलोकन गर्नुका साथै हिरासत पुस्तकालय र प्रहरीमा प्रविधि मैत्री प्रणालीलाई जोड दिदै लेटाङ एरिया इलाकामा शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रविधियुक्त ड्रोन क्यामेराको उद्घाटन गर्नु भएको छ ।
निरीक्षण अवलोकन तथा उद्घाटन कार्यक्रमलाई सम्वोधनको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेले दिनानुदिन जटिल, सूक्ष्म तथा प्रविधिको प्रयोग गरी हुने अपराधको स्वरूपलाई मध्यनजर गर्दै प्रहरीलाई प्रविधिमा आधारित बनाउदै लैजान इलाका प्रहरी कार्यालय लेटाङले सुरु गरेको ड्रोन क्यामेरा प्रविधि समयसापेक्ष तथा नवप्रवर्तनशील कदम रहेको बताउनु भयो ।
लेटाङ क्षेत्रमा पहाडी डाँडा पाखा, घना वन जंगल, नदी-नाला तथा दुर्गम भेगहरूले भरिएको एरिया इलाकाहरुमा प्रहरीको मोवायल तथा पैदल गस्ती र निगरानीले मात्र प्रहरीको पहुँच पर्याप्त नहुने भएकाले ड्रोन क्यामेराको प्रयोगले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नु भएको छ । वहाँले आचरण व्यवहारमा सकारात्मक परिवर्तनका लागि “थुनुवाहरूलाई हात-हातमा किताब" भन्ने उदेश्यका साथ हिरासत पुस्तकालयको स्थापनाले हिरासतमा रहेका व्यक्तिहरूले समयलाई आत्मनिरीक्षण, अध्ययन र सकारात्मक सोचतर्फ उन्मुख गर्न मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रसंशा-पत्र तथा नगद पुरस्कार द्वारा पुरस्कृत गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटुवाल, प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, पुर्वि पृतना लेटाङ शिक्षालयका प्रमुख सेनानी सरोज कार्की, स्थानिय जनप्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धीजिवी लगायत संचार कर्मीहरुको उपस्थिति रहेको थियो ।
इलाका प्रहरी कार्यालय, लेटाङको जिम्मेवारी क्षेत्रभित्र शान्ति सुरक्षा, अपराध अनुसन्धान, ट्राफिक निगरानी, खोला नालामा हुने अवैध उत्खनन, चोरी-तस्करी लगायत आपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्न तथा आपतकालिन अवस्थामा शिघ्र प्रहरीको पहुँच सुनिश्चित गर्न प्रविधि युक्त ड्रोन क्यामेराबाट निगरानी बढाई प्रहरी कार्यलाई थप प्रभावकारी, छिटो छरितो तथा प्रविधिमैत्री बनाई समाजमा शान्ति सुरक्षा कायम राखि नागरिक र प्रहरीको सम्बन्ध सुदृढ बनाउन इलाका प्रहरी कार्यालय लेटाङ सकृय रहनेछ ।


सम्बन्धित समाचार
लागू औषध सहित ३ जना पक्राउ
२०८३-०२-२६

झापा, सुनसरी र मोरङ जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २५ गते लागू औषध सहित ३ जना पक्राउ परेका छन् । झापाको इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पाँचथर फाल्गुनन्द गाउँपालिका–७ का २५ वर्षीय सुजन नेम्वाङलाई ८ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका–६ स्थितबाट पक्राउ गरेको छ भने सुनसरीको धरान उप-महानगरपालिका–१७ स्थितमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT तथा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको संयुक्त टोलीले सोही स्थानका ३१ वर्षीय करण खड्काको घर कोठामा चेकजाँच गर्दा Tramol ६५० क्याप्सुल र Coliban ९४० चक्की गरी जम्मा १ हजार ५ सय ९० पिस प्रतिबन्धित औषधि फेला पारी नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरङको रतुवामाई नगरपालिका–८ स्थित ३५ वर्षीय कर्णबहादुर थापाले घरबाट लागू औषध बिक्री वितरण गर्दै आएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट खटिएको प्रहरी टोलीले थापालाई उनकै घरबाट ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

लागू पदार्थ सेवन गर्ने १४ जना नियन्त्रणमा
२०८३-०२-२६

मोरङको विराटनगर महानगरपालिका-१६ स्थित सिमा क्षेत्रमा चेकजाँचको क्रममा ला.प.से. गरी सवारी चलाउने १३ जना र पैदल यात्री १ जनालाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको “लागू औषध दुर्व्यसन विरुद्धको महाअभियान (Mega Campaign Against Narcotics- Mega CAN)” अन्तरगत जेठ २५ गते लागू पदार्थ सेवन तथा प्रयोग समेतलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले विराटनगर-१६ स्थित सिमा क्षेत्रमा आवत जावत गर्ने सवारी साधन तथा संकित व्यक्तिहरुलाई लक्षित गरी गरेको ला.प.से. चेकजाँचको क्रममा १२ जना सिटी सफारीका चालक, १ जना अटोटेम्पो चालक र १ जना पैदल यात्रीले ला.प.से. गरेको फेला पारेको थियो । लागू पदार्थ सेवन गर्ने १४ जनालाई इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।  

लागू औषध सहित ८ जना पक्राउ
२०८३-०२-२५

झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषध सहित ८ जना पक्राउ परेका छन् । झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–४ सुकुम्बासी बस्ती स्थितबाट गौरीगञ्ज गाउँपालिका–१ का २० वर्षीय जीवन राजवंशीलाई १ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर सहित, ताप्लेजुङ्गको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनका २५ वर्षीय विजय लिम्बु र पाँचथरको फिदिम नगरपालिका–२ की २३ वर्षीया एलिना तामाङलाई प्रतिबन्धित औषधि NITZASCEN ७ चक्की सहित र इलाका प्रहरी कार्यालय अनारमनीबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–६ स्थित राजु राजवंशीलाई उनकै घरबाट ३ ग्राम ब्राउन सुगर फेला पारी राजु राजवंशी र संलग्न ३० वर्षीय अभिनास चौधरीलाई पक्राउ गरेको छ । सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–७ स्थित २५ वर्षीय रवि श्रेष्ठलाई उनकै घरबाट ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगर, N10 लेखिएको १६३ पिस प्रतिबन्धित चक्की, नगद ४५ हजार ९ सय रुपैया तथा एक थान डिजिटल तराजु सहित पक्राउ गरेको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तिमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–११ का २५ वर्षीय अभिषेक कार्की ढोली र त्रियुगा नगरपालिका–३ लच्काका ३० वर्षीय फिलेमान शाहको साथबाट १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ११ जना पक्राउ
२०८३-०२-२०

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषध सहित ११ जना पक्राउ परेका छन । झापाको इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर नगरपालिका-१४ का आकाश चौधरीलाई १६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी टाघनडुब्बाले दमक नगरपालिका-१० का सुरज राय र विराटनगर-३ का बाबुराम दर्जीलाई १४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा नगरपालिका-७ का बिनोद मगर, भोजपुर हतुवागढी गाउँपालिका-४ का सागर राईलाई ५ किलो ९० ग्राम गाँजा सहित पक्राउ गरेको छ । यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले पथरीशनिश्चरे नगरपालिका-८ का रबिन माझी, दुर्गा राई, पवन खत्री र कानेपोखरी गाउँपालिका-५ का रमल नेपालीलाई २०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको अस्थायी प्रहरी चौकी जोरसखुवाले धनकुटा साँगुरीगढी गाउँपालिका-९ का बिनोद राई र विशाल राईलाई ३७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।