प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपराध अनुसन्धान समिक्षा गोष्ठी २०८० सम्पन्न

२०८०-०९-०६

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित “एक दिवसिय प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी-२०८० सम्पन्न भएको छ । नेपाल प्रहरीको बार्षिक कार्ययोजना २०८० को लक्ष्य अनुसार आज भएको समिक्षा गोष्ठीको प्रमुख अतिथि कोशी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राईज्यूले पानसमा दिप प्रज्वलन गरी औपचारिकरुपमा समुद्‌घाटन गर्नु भएको हो ।

अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, अनुसन्धानको विद्यमान अवस्थाको समिक्षा गरी सुधारका क्षेत्रहरूको पहिचान गर्नुका साथै नविन विचारहरूको अवलम्बन गरी अनुसन्धानमा देखिने कानूनी तथा अन्य समस्याको समाधानका उपायहरू अवलम्बन गर्ने, साईवर कसुर अनुसन्धान सम्बन्धी नविन कानूनको अवस्था र अभ्यासका बारेमा जानकारी गराई कार्यान्वयनमा एकरूपता कायम गर्न, अनुसन्धानको प्रभावकारीता अभिवृद्धिका लागी अनुसन्धानकर्ताहरू बिच समन्वयको विकास र अपराध अनुसन्धानमा देखिएका समस्या र चुनौतीहरू सम्बोधन गर्नको लागि साझा धारणा विकास गर्ने,  विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयवीच समन्वयको विकास गर्ने उद्देश्यका साथ प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठीको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि माननीय आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राईज्यूले अपराध अनुसन्धान गोष्ठीको पूर्ण सफलताको कामना गर्दै अपराध अनुसन्धानको क्षेत्रमा सवल रहेको नेपाल प्रहरीलाई आगामी दिनमा साधन श्रोत सम्पन्न बनाई अपराध अनुसन्धान कार्यमा थप शसक्त वनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
गोष्ठीमा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले जिल्लाको समग्र बस्तुस्थिति, अनुसन्धानमा गरिएका नविन प्रयोगहरु तथा अनुसन्धानमा देखिएका समस्या र चुनौतीको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त गोष्ठीमा जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने इलाका प्रहरी कार्यालयहरुका कार्यालय प्रमुख तथा अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले अपराध अनुसन्धान गर्ने तल्लो इकाईमा बास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिने र समस्या समाधानमा यस गोष्ठीले पुलको काम गर्ने बताउँदै अपराधका प्रकृति र प्रवृत्ति परिवर्तित हुँदै गईरहेको हुँदा प्रहरीको अवको अनुसन्धान कसूर अनुसन्धानमा प्रभावकारिता ल्याउने उद्देश्यका साथ प्राप्त श्रोत साधनहरूको अधिकतम उपयोग गरी अनुसन्धानको कार्यलाई कानुनी परिधि भित्र रही वैज्ञानिक, प्रमाणमुखी र पीडित मैत्री बनाउन गोष्ठीमा उपस्थित सम्पूर्ण  प्रहरी प्रमुखहरूलाई निर्देशन दिनु भयो ।

गोष्ठीमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरिक्षक राजन अधिकारी, नेपाल प्रदेश कार्यालय धरानका प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक नरेशराज सुवेदी, प्रहरी नायव उपरीक्षक गणेश बहादुर बम, नेपाल प्रहरी प्रधान कार्यालय साईवर ब्युरोका प्रहरी नायव उपरीक्षक ई. दिपेश जोशीले अपराध अनुसन्धानका बिषयमा बुदागत प्रस्तुतिकरण गर्नु भएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले समग्र प्रदेशको अपराधको अवस्था, प्रदेशले औल्याएका त्रुटीहरु र तालुक कार्यालयसंगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।


यसै गरी अपराध अनुसन्धानको प्रभावकारीता, कानुन कार्यान्वयनमा देखिएको कठिनाई, कसुरको अनुसन्धान र अभियोजनमा देखिएका चुनौती तथा अनुसन्धानकर्ता र अभियोजनकर्ता बिच समन्वय बिषयमा जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता सुभास कुमार भट्टराई, उच्च सरकारी वकिल कार्यालयका सह-न्यायाधिवक्ता नारायण बहादुर थापाले आ-आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले उपस्थित प्रमुख अतिथि तथा अन्य अतिथिहरु लगायत गोष्ठीमा सहभागी सम्पुर्ण प्रहरी अधिकृतहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।   
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोज कुमार यादव लगायत प्रहरी अधिकृतहरुका साथै विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मी तथा  प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  



सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८१-०४-०२

झापा र खोटाङको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो खोटाङको साकेला गाउँपालिका-१ स्थितमा भोजपुरबाट दिक्तेल तर्फ जाँदै गरेको प्रदेश २-०१-००१ त २०१५ नम्बरको ट्रयाक्टर अनियन्त्रित दुर्घटना हुँदा ट्याक्टर चालक स्थानिय २१ बर्षीय जिवन देउजाको घटनास्थलमानै मृत्यु भएको हो । यसैगरी झापाको गौरादह नगरपालिका-१ स्थितमा दुई वटा मोटरसाईकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका बा. ७० प १८१ नम्बरको मोटरसाईकल चालक गौरादह-१ का २४ बर्षीय सन्जोक भण्डारीको उपचारको क्रममा निम्स अस्पताल दमकमा मृत्यु भएको हो भने मे.६ प ५८१ नम्बरको मोटरसाईकल चालक सोही स्थानका २८ बर्षीय दुर्गा ताजपुरीयाको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भई रहेको छ । घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट कानुनि कार्वाही तथा आवश्यक अनुसन्धान भईरहेको छ ।

कुटपिटबाट बालकको मृत्यु
२०८१-०४-०२

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ का ४५ बर्षीय विर बहादुर बिश्वकर्माले कुटपिट गर्दा ६ बर्षीय बालकको मृत्यु भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा बराहक्षेत्र-३ का बिक्रम बि.क.को ६ बर्षीय छोरा अबि बि.क. रहेका छन । हिजो दिउँसो मादक पदार्थ सेवन गरेका बिर बहादुर बि.क.ले बालकले कानमा लगाएको सुनको मुन्द्री तान्ने क्रममा बालकले इन्कार गरे पश्चात बालकलाई शरिरको बिभिन्न भागमा कुटपिट गरी घाईते बनाएका थिए । घाईते बालकको बिपि कोईला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।  पक्राउ परेका बि.क.को इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आवश्यक अनुसन्धान तथा कानुनि कारवाही भईरहेको  छ ।

पहिरोले पुरिएर २ जनाको मृत्यु १ जना घाईते ।
२०८१-०४-०१

संखुवासभाको सिलिचोङ गाउँपालिका-१ बिलुवा दोभान स्थितमा पहिरोले पुरिएर एकाघरका २ जनाको मृत्यु र १ जना घाईते भएका छन् । आज बिहान ५ बजे मोतीमाया राईको टाटी बेरा भएको  घरमा ढुंगासंगै झरेको पहिरो खस्दा घर भित्र रहेका ६ जना मध्ये घर धनि ५५ बर्षीया मोतीमाया राई र बुहारी २७ बर्षीया समिक्षा राईको घटनास्थलमानै मृत्यु भएको छ भने छोरी २७ बर्षीया रबिना राई घाईते भएकी छन् । घाईते रबिनालाई थप उपचारको लागी नेपाली सेनाको हेलीकप्टरद्धारा उद्धार गरी सशस्त्र प्रहरी बल अस्पताल बलम्बु काठमाण्डौ लगिएको छ ।   अन्य घरका सदस्य ज्वाई नाताका ३३ बर्षीय मनि कुमार राई, नाती १२ बर्षीय अमिर राई र नतिनी ४ बर्षीया समृद्धी राईलाई सकुशल उद्धार गरिएको छ ।घटनास्थलमा प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय समखुवासभाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटि गई उद्धार कार्य भईरहेको  छ । घटनास्थल सदरमुकामबाट ५ घण्टा पश्चिम उत्तर पैदल दुरीमा रहेको छ ।