प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०८२ सम्पन्न

२०८२-०९-१६

  • A
  • A-
  • A+
Share

नेपाल सरकार गृह मन्त्रालय र कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा  संयुक्तरुपमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । पुस १६ गते विराटनगर स्थित एसियाटिक होटलमा माननीय गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यता, कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको विशेष आतिथ्यता तथा गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा शुभारम्भ भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठी कोशी प्रदेशमा शान्ति सुरक्षा प्रभावकारी बनाउने उद्धेश्यका साथ सम्पन भएको हो । उक्त गोष्ठीको माननीय गृहमन्त्री ओम प्रकाश अर्याल तथा कोशी प्रदेशका माननीय आन्तरीक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले संयुक्तरुपमा पानसमा दिप प्रज्वलन गर्नु भई कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । उक्त कार्यक्रमलाई  सम्वोधनको क्रममा प्रमुख अतिथि माननीय गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्लाहरुको शान्ति सुरक्षा प्रभावकारी बनाउन र भएका समस्या  र चुनौतीलाई समाधान गर्न प्रदेशस्तरीय गोष्ठीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने वताउनु भयो । वहाँले सुरक्षा निकायको मनोवल बढाउदा नै देशको मनोवल उच्च हुने हुँदा सुरक्षा निकायको मनोवल बढाउने कार्यमा नेपाल सरकार सदैव क्रियासिल रहेको बताउनु भयो । यसै गरी वहाँले निर्धारित समयमै निर्वाचन सम्पन्न गराउन नेपाल सरकार प्रतिवद्ध रहेको सवैमा अवगत गराउदै सहजताको वातावरण सृजना गरी देशमा सुशासन कायम राख्न सवैमा अनुरोध गर्नु भयो ।

कार्यक्रममा कार्यक्रमका विशिष्ठ अतिथि कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम राख्न सुरक्षा केन्द्रित गोष्ठीले उल्लेखनिय भूमिका निर्वाह गर्ने उल्लेख गर्दै जिम्मेवार निकायहरूले आ-आफ्नो क्षेत्रमा सक्रिय भई जिम्वेवारी अनुसारको दायित्व निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो । वहाँले समाजमा शान्ति सुरक्षा प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक श्रोत साधन उपलव्ध गराउन प्रदेश सरकार तत्पर रहेको वताउदै कोशी प्रदेशमा लागू पदार्थ दुर्व्यसन ठूलो समस्याकोरुपमा रहेकोले यसलाई नियन्त्रण गर्न विशेष अभियानका साथ अगाडि बढ्नु पर्ने बताउनु भयो ।

गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कोशी प्रदेशको शान्ति सुरक्षा प्रभावकारी बनाउन तथा आसन्न निर्वाचनलाई सम्पन्न गराउन योजनाबद्धरुपमा थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन दिनुभयो । प्रदेशमा शान्ति सुरक्षा कायम राख्न आ-आफ्नो दायित्व बोधबाट मात्र सम्भव हुने हुँदा भुगोललाई बुझेर काम गर्न, जेन्जी आन्दोलनमा प्रहरीका लुटिएका हातहतियार, कारागारबाट फरार कैदी र प्रहरी हिरासतबाट भागेका व्यक्तिहरुलाई नियन्त्रणमा लिन योजना बनाई सक्रियरुपमा प्रहरी परिचालन गर्न निर्देशन दिनु भयो । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण गर्न बसपार्क, जीप पार्कमै आवश्यक चेकजाँचको व्यवस्था मिलाई आवश्यकता अनुसार मात्र चेकजाँच गरी सवारी नियम उलंघन गर्नेलाई कारवाही गर्न तथा खुल्ला सिमानाको कारण हुने चोरी तस्करी, राजस्व चुहावट, अखाद्य बस्तु विक्री बितरण, कलोबजारी, गुण्डा गर्दी नियन्त्रण गर्न योजना अनुरुप प्रहरी परिचालन गर्न  निर्देशन दिनु भएको छ । यसै गरी  प्रहरीको मनोवल उच्च बनाउने कार्यमा लागि पर्न समेत गोष्ठीमा उपस्थित प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भयो ।

गोष्ठीमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, गृह सचिव राजकुमार श्रेष्ठ, कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग के.सी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीले प्रदेश स्तरिय सुरक्षा गोष्ठीको बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । यसै गरी आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशका प्रदेश सचिव नारायण प्रसाद रिसालले कोशी प्रदेशको सुरक्षा अवस्था र सुरक्षा चुनौती सम्वन्धि प्रस्तुति र  गृह मन्त्रालयका सह सचिव आनन्द काफ्लेले स्वागत मन्तव्य सहित सुरक्षा गोष्ठीको उद्देश्यका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो भने १४  वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या, चुनौती, समाधानका उपाय लगायत विविध विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशका प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार
फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित
२०८२-१२-०३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदिय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक किशोर लम्सालले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर- ०५ जस्तो अतिसंबेदनशिल निर्वाचन क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी कुनै पनि घटना घट्न नदिई निर्वाचन सम्पन्न गराउन सफल भएको, Gen-Z आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियाहरु र हिरासतबाट भागी फरार भएका प्रतिवादीहरु खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय दमकको छेउमा रहेको खाली जग्गाको झाडीमा Y13487 नम्बरको मार्का-४ राईफल थान-१ र विभिन्न स्थानहरुबाट १९ जना प्रतिवादीहरुलाई पक्राउ गरेको साथै फागुन महिनामा जम्मा ३५ वटा मुद्दा दर्ता भएकोमा Gen-Z आन्दोलन सँग सम्बन्धित १० वटा मुद्दा दर्ता भई १० वटा नै फर्छ्यौट भएको, Gen-Z आन्दोलनमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकलाई स्थानीय निकाय, विभिन्न संघ संस्था तथा स्थानीय बासीहरूसँग समन्वय र सहकार्य गरी भवनहरू पूर्ण रुपमा मर्मत, फर्निचर तथा विद्युतीय उपकरणहरू पर्याप्त मात्रामा कार्यालयलाई उपलब्ध गराउने कार्यमा निरन्तरता दिई नेतृत्वदायी भुमिका निर्वाह गरेको, ध्वनी प्रदुषण गर्ने २१७ वटा मोटरसाईकल नियन्त्रणमा लिई कारबाही गरेको र चालु तथा पेण्डिङ मुद्दाका मिसिलहरु सम्बन्धित कार्यालयहरुसँग समन्वय गरी मिसिल पुनःनिर्माण गर्न भुमिका निर्वाह गरेको साथै हाल सम्म बिभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीहरु समेत पक्राउ गर्न अहम भुमिका निर्वाह गरी आम नागरिकहरु र जनमानसमा शान्ति सुरक्षाको अनुभुति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट बहन गरेको हुँदा सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-१२-०२

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ०१ गते झापाको दमक नगरपालिका- ५ स्थितमा लागू औषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका मोहन यादव र गौरीगंज गाउँपालिका- १ का प्रवेश राईलाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले मेचिनगर- ६ बाट मे. ६ प ७७२६ नम्बरको मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका- ७ का लाख बहादुर योंङहालाई २ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रण लिएको छ । त्यस्तै सुनसरीको कोशी गाउँपालिका- १ बाट इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले प्रदेश १-०२-०५३ प ५८२१ नम्बरको मोटरसाईकल चालक दुहवी- २ का सुशान्त चौधरी, मोटरसाईकल पछाडी सवार दुहवी- १० मेराज चौधरीलाई ८ ग्राम ११० मिलिग्राम सहित र भोक्राहा नरसिंह गाउँपालिका- ६ बाट मोरङ कानेपोखरी गाउँपालिका- ७ का शुरेन्द्र जिमीलाई ६ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र गाँजा सहित २ जना पक्राउ
२०८२-११-३०

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र  गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २९ गते सुनसरीको गढी गाउँपालिका- २ औरावनी चोक स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका- ८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी ३२ बर्षीया मोनिका चौधरीले सटर भाडामा लिई संचालन गर्दै आएको शिव महिमा मेडिकल हल फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री वतरण गरिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह PIT र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त फार्मेसीमा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ९ सय ३० ट्याब्लेट फेला पारी चौधरीलाई नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बिराटनगर- ३ बरगाछी चोकबाट भारत अररियाका पृथ्वी कुमार सिंह, कृष्ण कुमार सिंहलाई ११ किलो ५२ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-११-२९

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले फागुन २८ गते सुनसरीको धरान-१३ स्थितबाट संखुवासभा सिलिचोङ गाउँपालिका-४ का २० बर्षीय सन्दिप राईलाई ३० किलोग्राम गाँजा सहित पक्राउ गरेको हो भने अस्थायी प्रहरी पोष्ट जोरसखुवाले धरान-११ बाट सोही स्थानका डानियल राईलाई ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १४९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिले झापाले शिवसताक्षी नगरपालिका-११ का ३२ बर्षीय शिवा मल्लिक र शिवसताक्षी-८ का कैलाश रणपयलीलाई १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-११-२६

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाले चेकजाँचको क्रममा को. ३१ प ३२५५ नम्बरको मोटरसाईकल चालक इटहरी- १८ का २९ बर्षीय जेम्स राई र मोटरसाईकल पछाडी सवार इटहरी- १७ का २९ बर्षीय सिद्धार्थ चौधरीलाई ३५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इटहरी-४ बाट इलाका प्रहरी कार्यालय इटहरीले धरान- २० का ३३ बर्षीय अर्जुन राईलाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमक झापाले मे. ११ प ६०५० नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका- ६ का ३२ बर्षीय लक्ष्मण राजवंशीलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका  जनाको थप अनुसन्धान भईरहेको छ ।