प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

धन्यवाद तथा शुभकामना कार्यक्रम

२०८२-०८-०५

  • A
  • A-
  • A+
Share

नेपाल सरकार गृहमन्त्रालय  बढुवा समितिको कार्तिक २८ गतेको पत्रादेशानुसार प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस हुनु भएका प्रहरी नायव महानिरीक्षक ईश्‍वर कार्कीलाई हार्दिक बधाई सहित धन्यवाद तथा शुभकामना व्यक्त गरिएको छ । मंसिर ०५ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक दिपक पोख्रेल सहित जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, झापा, इलाम, उदयपुर, धनकुटा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुखहरु सहित उपस्थित प्रहरी अधिकृत तथा प्रहरी जवानहरुले प्रहरी नायव महानिरीक्षक कार्कीलाई व्यवसायिक एवं पारिवारिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी कार्यकालको शुभकामना सहित सम्मानपूर्वक धन्यवाद तथा शुभकामना व्यक्त गर्नु भएको थियो । धन्यवाद तथा शुभकामना कार्यक्रमलाई सम्वोधनको क्रममा प्रहरी नायव महानिरीक्षक कार्कीले जस्तोसुकै चुनौतीपुर्ण तथा विषम परिस्थितमा सजग, चनाखो, इमान्दार र कर्तव्यनिष्ठ भएर कोशी प्रदेशको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन तथा प्रहरी संगठनको गौरवशाली इतिहासलाई जोगाउदै “सत्य, सेवा, सुरक्षणम्” मुल मन्त्रलाई आत्मसाथ गर्दै नागरिकको जिउधनको सुरक्षाका लागि अहोरात्र खटि आफ्नो कार्यकाल सफल र फलदायी बनाउन सहयात्रीको भुमिका निर्वाह गर्नु हुने जिल्ला प्रहरी प्रमुखहरु लगायत  सम्पुर्ण प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नु भएको थियो । साथै वहाँले प्रहरीलाई उपलब्ध सिमित स्रोत साधनहरुको अधिकतम उपयोग गरी शारिरिक, मानसिक तथा भौतिकरुपमा सक्षम र सवल भई जस्तो सुकै कठिन परिस्थिति आई परे पनि कति पनि विचल्लित नभई समाजमा शान्ति सुरक्षा स्थापना गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोख्रेलले प्रहरी अतिरीक्त महानिरीक्षक पदमा बढुवा सिफारिस हुनु भई बिदाई भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई चुनौतीपूर्ण विषम परिस्थितिमा समेत बिचलित नभई  अत्यन्त समर्पित, धेर्यशील, दुरदर्शी र उच्च नेतृत्व क्षमता प्रदर्शन गर्दै जिम्मेवारी वहन गर्नु भएकोमा मुक्तकण्ठले प्रशंसा गर्नु हुदै कोशी प्रदेश अन्तरगत कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रदान गर्नुभएको मार्ग निर्देशन, अभिभावकत्व, हौसला, माया, साथ र सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरुको तर्फबाट वहाँको व्यवसायिक, व्यक्तिगत तथा पारिवारिक जीवनको निरन्तर सफलता, समृद्धि र उन्नतिको शुभकामना व्यक्त गर्नु भएको थियो  ।  साथै धन्यवाद तथा शुभकामना कार्यक्रममा कोशी प्रदेशका पहाडी जिल्लाका जिल्ला प्रहरी प्रमुखहरु तथा “क” स्तर सम्मका प्रहरी इकाईहरुका प्रमुखहरु समेत भर्चुअल माध्यमद्वारा उपस्थित हुनु भएको थियो ।

 

 

 



सम्बन्धित समाचार
फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित
२०८२-१२-०३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदिय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक किशोर लम्सालले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर- ०५ जस्तो अतिसंबेदनशिल निर्वाचन क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी कुनै पनि घटना घट्न नदिई निर्वाचन सम्पन्न गराउन सफल भएको, Gen-Z आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियाहरु र हिरासतबाट भागी फरार भएका प्रतिवादीहरु खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय दमकको छेउमा रहेको खाली जग्गाको झाडीमा Y13487 नम्बरको मार्का-४ राईफल थान-१ र विभिन्न स्थानहरुबाट १९ जना प्रतिवादीहरुलाई पक्राउ गरेको साथै फागुन महिनामा जम्मा ३५ वटा मुद्दा दर्ता भएकोमा Gen-Z आन्दोलन सँग सम्बन्धित १० वटा मुद्दा दर्ता भई १० वटा नै फर्छ्यौट भएको, Gen-Z आन्दोलनमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकलाई स्थानीय निकाय, विभिन्न संघ संस्था तथा स्थानीय बासीहरूसँग समन्वय र सहकार्य गरी भवनहरू पूर्ण रुपमा मर्मत, फर्निचर तथा विद्युतीय उपकरणहरू पर्याप्त मात्रामा कार्यालयलाई उपलब्ध गराउने कार्यमा निरन्तरता दिई नेतृत्वदायी भुमिका निर्वाह गरेको, ध्वनी प्रदुषण गर्ने २१७ वटा मोटरसाईकल नियन्त्रणमा लिई कारबाही गरेको र चालु तथा पेण्डिङ मुद्दाका मिसिलहरु सम्बन्धित कार्यालयहरुसँग समन्वय गरी मिसिल पुनःनिर्माण गर्न भुमिका निर्वाह गरेको साथै हाल सम्म बिभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीहरु समेत पक्राउ गर्न अहम भुमिका निर्वाह गरी आम नागरिकहरु र जनमानसमा शान्ति सुरक्षाको अनुभुति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट बहन गरेको हुँदा सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-१२-०२

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ०१ गते झापाको दमक नगरपालिका- ५ स्थितमा लागू औषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका मोहन यादव र गौरीगंज गाउँपालिका- १ का प्रवेश राईलाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले मेचिनगर- ६ बाट मे. ६ प ७७२६ नम्बरको मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका- ७ का लाख बहादुर योंङहालाई २ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रण लिएको छ । त्यस्तै सुनसरीको कोशी गाउँपालिका- १ बाट इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले प्रदेश १-०२-०५३ प ५८२१ नम्बरको मोटरसाईकल चालक दुहवी- २ का सुशान्त चौधरी, मोटरसाईकल पछाडी सवार दुहवी- १० मेराज चौधरीलाई ८ ग्राम ११० मिलिग्राम सहित र भोक्राहा नरसिंह गाउँपालिका- ६ बाट मोरङ कानेपोखरी गाउँपालिका- ७ का शुरेन्द्र जिमीलाई ६ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र गाँजा सहित २ जना पक्राउ
२०८२-११-३०

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र  गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २९ गते सुनसरीको गढी गाउँपालिका- २ औरावनी चोक स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका- ८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी ३२ बर्षीया मोनिका चौधरीले सटर भाडामा लिई संचालन गर्दै आएको शिव महिमा मेडिकल हल फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री वतरण गरिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह PIT र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त फार्मेसीमा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ९ सय ३० ट्याब्लेट फेला पारी चौधरीलाई नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बिराटनगर- ३ बरगाछी चोकबाट भारत अररियाका पृथ्वी कुमार सिंह, कृष्ण कुमार सिंहलाई ११ किलो ५२ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-११-२९

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले फागुन २८ गते सुनसरीको धरान-१३ स्थितबाट संखुवासभा सिलिचोङ गाउँपालिका-४ का २० बर्षीय सन्दिप राईलाई ३० किलोग्राम गाँजा सहित पक्राउ गरेको हो भने अस्थायी प्रहरी पोष्ट जोरसखुवाले धरान-११ बाट सोही स्थानका डानियल राईलाई ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १४९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिले झापाले शिवसताक्षी नगरपालिका-११ का ३२ बर्षीय शिवा मल्लिक र शिवसताक्षी-८ का कैलाश रणपयलीलाई १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-११-२६

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाले चेकजाँचको क्रममा को. ३१ प ३२५५ नम्बरको मोटरसाईकल चालक इटहरी- १८ का २९ बर्षीय जेम्स राई र मोटरसाईकल पछाडी सवार इटहरी- १७ का २९ बर्षीय सिद्धार्थ चौधरीलाई ३५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इटहरी-४ बाट इलाका प्रहरी कार्यालय इटहरीले धरान- २० का ३३ बर्षीय अर्जुन राईलाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमक झापाले मे. ११ प ६०५० नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका- ६ का ३२ बर्षीय लक्ष्मण राजवंशीलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका  जनाको थप अनुसन्धान भईरहेको छ ।