धनकुटा जिल्लामा चल्ने सार्वजानिक सवारी साधनहरुमा टाईम कार्ड लागु
२०८२-०३-०१
- A
- A-
- A+
धनकुटा जिल्लामा चल्ने यात्रु वाहक सवारी साधनहरुमामा टाईम कार्ड लागु गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गरी यात्रु महानुभावहरुको सुरक्षित यात्राको लागी कोशी लोकमार्ग अन्तरगत भेडेटार देखि सिधुवा सम्मका रुटमा चल्ने यात्रुवाहक सवारी साधनमा टाईम कार्ड लागु गरिएको हो । असार १ गते साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटारमा जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलको प्रमुख आतिथ्यतामा यात्रु वाहक सार्वजानिक सवारी साधनमा टाईम कार्डको शुभारम्भ गरिएको छ ।
शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले टाईम कार्ड लागु भए पश्चात सवारी दुर्घटना न्यूनीकरण हुने विश्वास व्यक्त गर्नु हुँदै चालकहरुले यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राखि निर्धारित समय तालिकाको पालना गरी सवारी चलाउन अनुरोध गर्नु भएको थियो । भने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले तिव्र गतिको कारण हुने सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थानपनको लागी धनकुटा जिल्लामा सार्वजानिक सवारी साधनहरुमा टाईम कार्ड लागु गरिएको बताउनुका साथै धनकुटा जिल्लामा टाईम कार्डको प्रयोगलाई प्रभावकारी बनाउन यातायात व्यवसायी, चालक तथा सहचालक लगायत सम्पुर्णमा अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा साँगुरिगढी गाउँपालिकाका प्रमुख जितेन्द्र राई, नेपाली सेना भिम दल गण सल्लेरी ब्यारेक धनकुटाका प्रमुख सेनानी गणेश थापा, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका प्रमुख सप्रनाउ मदन नाथ, राष्ट्रिय अनुसन्धान बिभाग धनकुटाका प्रमुख रुद्र बहादुर गुर्बछान, यातायात व्यवसायी, सवारी चालक तथा सहचालक लगायत स्थानिय महानुभावहरुको उपस्थिति रहेको थियो ।