प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एक दिवसीय प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न

२०८२-०२-०१

  • A
  • A-
  • A+
Share

नेपाल सरकार गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको संयुक्त आयोजनामा कोशी प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । माननीय गृह मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता तथा नेपाल सरकार गृह मन्त्रालयका गृह सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा वैशाख ३१ गते मोरङको विराटनगर स्थित होटल एसियाटिकमा उक्त सुरक्षा गोष्ठी सम्पन्न भएको हो । एक दिवसीय प्रदेश स्तरिय सुरक्षा गोष्ठीको माननीय गृह मन्त्री रमेश लेखक तथा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले संयुक्तरुपमा पानसमा दिप प्रज्वलन गर्नु भई कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै माननीय गृह मन्त्री रमेश लेखकले जिल्लाहरुको शान्ति सुरक्षा प्रभावकारी बनाउन र भएका समस्या  र चुनौतीलाई समाधान गर्न प्रदेश स्तरिय गोष्ठीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने वताउनु भयो । देशको आन्तरिक सुरक्षा मजबुद भए मात्रै विकास र समृद्धि सम्भव हुने हुँदा सुरक्षा व्यवस्था तथा आर्थिक अवस्था मजवुद बनाउन भन्सार चोरी निकासी, कालोवजारी, गुण्डा गर्दी, भ्रष्टाचार, लागुऔषध दुर्व्यसनि, सवारी दुर्घटना, आत्महत्या र साईबर अपराधका घटनाहरुलाई नियन्त्रण तथा निरुत्साहित गर्न सबै एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । साथै वँहाले संविधानको विरुद्धमा हुने कुनै पनि गतिविधि मान्य नहुने र शान्ती सुरक्षा तथा अपराध नियन्त्रणका लागी भावी रणनिती बनाएर काम गर्नुपर्ने बताउनु भयो । सम्बोधनकै क्रममा वँहाले जुन सुकै अवस्थामा घट्ने बिपदका घटनाहरुको व्यवस्थापनका लागि उपलव्ध श्रोत साधन सहित तयारी अवस्थामा रहन निर्देशन समेत दिनु भयो ।

कार्यक्रममा कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम राख्नको लागि गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै जिम्मवार निकायहरूले आ-आफ्नो क्षेत्रमा सक्रिय भई जिम्वेवारी अनुसारको दायित्व निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो । वहाँले सुरक्षा निकायलाई साधन श्रोत सम्पन्न बनाएमा मात्र समाजमा शान्ति सुरक्षा बलियो हुने बताउदै आवश्यक श्रोत साधन उपलव्ध गराउन प्रदेश सरकार सदैव तत्पर रहेको वताउनु भयो । वहाँले लागू पदार्थ दुर्व्यसन यस प्रदेशमा ठूलो समस्याकोरुपमा रहेको हुनाले यसलाई नियन्त्रण गर्न सवैसंग हातेमालो गरी विशेष अभियानका साथ प्रदेश सरकार अगाडि बढिरहेको बताउनु भयो । कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडीले गोष्ठीमा भएको प्रस्तुतीकरण एवम् छलफलले एक आपसमा भएका असल अभ्यासको आदान प्रदान गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै बिगतमा भएका कमि कमजोरीहरुबाट पाठ समेत सिक्नु पर्ने बताउनु भयो ।  लागूऔषध ओसारपसार, भन्सार छली, चोरी तस्करी, साईवर अपराध जस्ता कानून विपरितका कृयाकलापहरु कसैले गरेमा क्षम्य नहुने हुँदा यसलाई नियन्त्रणका लागी सुरक्षा निकायहरु कसैको दवाव र प्रभामा नपरी काम गर्न निर्देशन दिनु भयो । सेवाग्राहीको समस्या, गुनासोलाई सुनुवाई गरी समयमै सामाधान गर्न र सुरक्षा चुनौतीलाई तत्काल समाधानका लागि जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूले  निर्धक्कताका साथ आफ्नो अधिकारको प्रयोग गर्न निर्देशन दिनु भयो । गोष्ठीमा प्रहरी महानिरीक्षक दिपक थापाले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र साँस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्षम, अब्बल र व्यावसायिक रूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । केन्द्रीय र प्रदेश स्तरबाट प्रभावकारी एवम् कुशल समन्वय र सहकार्य गरी कोशी प्रदेशको शान्ति सुरक्षा थप मजबुत बनाई व्यावसायिक तथा सक्ष्म प्रहरी सेवा प्रवाह गराउन र कानूनको निष्पक्ष कार्यान्वयन गरी विकास मैत्री वातावरण सृजना गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले विधिको शासनलाई अझ सशक्त बनाउन, आम नागरिकलाई न्यायको प्रत्याभूति दिलाउन, राज्यले प्रदत्त गर्ने सेवाहरूमा सबैको पहुँच सुनिश्‍चित गर्न एवम् देश र समाजको दिगो विकास प्राप्तिमा नेपाल प्रहरी सदैव कटिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य सम्पादन गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन समेत दिनुभयो ।उक्त गोष्ठीमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, नेपाली सेनाका रथी निर्मल कुमार थापा, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेलले प्रदेश स्तरिय सुरक्षा गोष्ठीको बारेमा आ-आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रममा गृह मन्त्रालयका सहसचिव राम चन्द्र तिवारीले स्वागत मन्तव्य व्यक्त राख्नुका साथै प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उदेश्य तथा कार्यक्रमको वारेमा प्रकाश पार्नु भएको थियो । यसै गरी कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राम प्रसाद आचार्यले प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, समस्या र चुनौती तथा समाधानका लागि आवश्यक कार्यको वारेमा प्रस्तुतिकरण गर्नु भएको थियो भने १४  वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशका प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, १४ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।



सम्बन्धित समाचार
फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित
२०८२-१२-०३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदिय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक किशोर लम्सालले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर- ०५ जस्तो अतिसंबेदनशिल निर्वाचन क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी कुनै पनि घटना घट्न नदिई निर्वाचन सम्पन्न गराउन सफल भएको, Gen-Z आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियाहरु र हिरासतबाट भागी फरार भएका प्रतिवादीहरु खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय दमकको छेउमा रहेको खाली जग्गाको झाडीमा Y13487 नम्बरको मार्का-४ राईफल थान-१ र विभिन्न स्थानहरुबाट १९ जना प्रतिवादीहरुलाई पक्राउ गरेको साथै फागुन महिनामा जम्मा ३५ वटा मुद्दा दर्ता भएकोमा Gen-Z आन्दोलन सँग सम्बन्धित १० वटा मुद्दा दर्ता भई १० वटा नै फर्छ्यौट भएको, Gen-Z आन्दोलनमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकलाई स्थानीय निकाय, विभिन्न संघ संस्था तथा स्थानीय बासीहरूसँग समन्वय र सहकार्य गरी भवनहरू पूर्ण रुपमा मर्मत, फर्निचर तथा विद्युतीय उपकरणहरू पर्याप्त मात्रामा कार्यालयलाई उपलब्ध गराउने कार्यमा निरन्तरता दिई नेतृत्वदायी भुमिका निर्वाह गरेको, ध्वनी प्रदुषण गर्ने २१७ वटा मोटरसाईकल नियन्त्रणमा लिई कारबाही गरेको र चालु तथा पेण्डिङ मुद्दाका मिसिलहरु सम्बन्धित कार्यालयहरुसँग समन्वय गरी मिसिल पुनःनिर्माण गर्न भुमिका निर्वाह गरेको साथै हाल सम्म बिभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीहरु समेत पक्राउ गर्न अहम भुमिका निर्वाह गरी आम नागरिकहरु र जनमानसमा शान्ति सुरक्षाको अनुभुति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट बहन गरेको हुँदा सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-१२-०२

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ०१ गते झापाको दमक नगरपालिका- ५ स्थितमा लागू औषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका मोहन यादव र गौरीगंज गाउँपालिका- १ का प्रवेश राईलाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले मेचिनगर- ६ बाट मे. ६ प ७७२६ नम्बरको मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका- ७ का लाख बहादुर योंङहालाई २ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रण लिएको छ । त्यस्तै सुनसरीको कोशी गाउँपालिका- १ बाट इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले प्रदेश १-०२-०५३ प ५८२१ नम्बरको मोटरसाईकल चालक दुहवी- २ का सुशान्त चौधरी, मोटरसाईकल पछाडी सवार दुहवी- १० मेराज चौधरीलाई ८ ग्राम ११० मिलिग्राम सहित र भोक्राहा नरसिंह गाउँपालिका- ६ बाट मोरङ कानेपोखरी गाउँपालिका- ७ का शुरेन्द्र जिमीलाई ६ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र गाँजा सहित २ जना पक्राउ
२०८२-११-३०

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र  गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २९ गते सुनसरीको गढी गाउँपालिका- २ औरावनी चोक स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका- ८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी ३२ बर्षीया मोनिका चौधरीले सटर भाडामा लिई संचालन गर्दै आएको शिव महिमा मेडिकल हल फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री वतरण गरिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह PIT र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त फार्मेसीमा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ९ सय ३० ट्याब्लेट फेला पारी चौधरीलाई नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बिराटनगर- ३ बरगाछी चोकबाट भारत अररियाका पृथ्वी कुमार सिंह, कृष्ण कुमार सिंहलाई ११ किलो ५२ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-११-२९

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले फागुन २८ गते सुनसरीको धरान-१३ स्थितबाट संखुवासभा सिलिचोङ गाउँपालिका-४ का २० बर्षीय सन्दिप राईलाई ३० किलोग्राम गाँजा सहित पक्राउ गरेको हो भने अस्थायी प्रहरी पोष्ट जोरसखुवाले धरान-११ बाट सोही स्थानका डानियल राईलाई ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १४९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिले झापाले शिवसताक्षी नगरपालिका-११ का ३२ बर्षीय शिवा मल्लिक र शिवसताक्षी-८ का कैलाश रणपयलीलाई १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-११-२६

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाले चेकजाँचको क्रममा को. ३१ प ३२५५ नम्बरको मोटरसाईकल चालक इटहरी- १८ का २९ बर्षीय जेम्स राई र मोटरसाईकल पछाडी सवार इटहरी- १७ का २९ बर्षीय सिद्धार्थ चौधरीलाई ३५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इटहरी-४ बाट इलाका प्रहरी कार्यालय इटहरीले धरान- २० का ३३ बर्षीय अर्जुन राईलाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमक झापाले मे. ११ प ६०५० नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका- ६ का ३२ बर्षीय लक्ष्मण राजवंशीलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका  जनाको थप अनुसन्धान भईरहेको छ ।