प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एक दिवसीय प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न

२०८२-०२-०१

  • A
  • A-
  • A+
Share

नेपाल सरकार गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको संयुक्त आयोजनामा कोशी प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । माननीय गृह मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता तथा नेपाल सरकार गृह मन्त्रालयका गृह सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा वैशाख ३१ गते मोरङको विराटनगर स्थित होटल एसियाटिकमा उक्त सुरक्षा गोष्ठी सम्पन्न भएको हो । एक दिवसीय प्रदेश स्तरिय सुरक्षा गोष्ठीको माननीय गृह मन्त्री रमेश लेखक तथा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले संयुक्तरुपमा पानसमा दिप प्रज्वलन गर्नु भई कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै माननीय गृह मन्त्री रमेश लेखकले जिल्लाहरुको शान्ति सुरक्षा प्रभावकारी बनाउन र भएका समस्या  र चुनौतीलाई समाधान गर्न प्रदेश स्तरिय गोष्ठीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने वताउनु भयो । देशको आन्तरिक सुरक्षा मजबुद भए मात्रै विकास र समृद्धि सम्भव हुने हुँदा सुरक्षा व्यवस्था तथा आर्थिक अवस्था मजवुद बनाउन भन्सार चोरी निकासी, कालोवजारी, गुण्डा गर्दी, भ्रष्टाचार, लागुऔषध दुर्व्यसनि, सवारी दुर्घटना, आत्महत्या र साईबर अपराधका घटनाहरुलाई नियन्त्रण तथा निरुत्साहित गर्न सबै एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । साथै वँहाले संविधानको विरुद्धमा हुने कुनै पनि गतिविधि मान्य नहुने र शान्ती सुरक्षा तथा अपराध नियन्त्रणका लागी भावी रणनिती बनाएर काम गर्नुपर्ने बताउनु भयो । सम्बोधनकै क्रममा वँहाले जुन सुकै अवस्थामा घट्ने बिपदका घटनाहरुको व्यवस्थापनका लागि उपलव्ध श्रोत साधन सहित तयारी अवस्थामा रहन निर्देशन समेत दिनु भयो ।

कार्यक्रममा कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम राख्नको लागि गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै जिम्मवार निकायहरूले आ-आफ्नो क्षेत्रमा सक्रिय भई जिम्वेवारी अनुसारको दायित्व निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो । वहाँले सुरक्षा निकायलाई साधन श्रोत सम्पन्न बनाएमा मात्र समाजमा शान्ति सुरक्षा बलियो हुने बताउदै आवश्यक श्रोत साधन उपलव्ध गराउन प्रदेश सरकार सदैव तत्पर रहेको वताउनु भयो । वहाँले लागू पदार्थ दुर्व्यसन यस प्रदेशमा ठूलो समस्याकोरुपमा रहेको हुनाले यसलाई नियन्त्रण गर्न सवैसंग हातेमालो गरी विशेष अभियानका साथ प्रदेश सरकार अगाडि बढिरहेको बताउनु भयो । कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडीले गोष्ठीमा भएको प्रस्तुतीकरण एवम् छलफलले एक आपसमा भएका असल अभ्यासको आदान प्रदान गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै बिगतमा भएका कमि कमजोरीहरुबाट पाठ समेत सिक्नु पर्ने बताउनु भयो ।  लागूऔषध ओसारपसार, भन्सार छली, चोरी तस्करी, साईवर अपराध जस्ता कानून विपरितका कृयाकलापहरु कसैले गरेमा क्षम्य नहुने हुँदा यसलाई नियन्त्रणका लागी सुरक्षा निकायहरु कसैको दवाव र प्रभामा नपरी काम गर्न निर्देशन दिनु भयो । सेवाग्राहीको समस्या, गुनासोलाई सुनुवाई गरी समयमै सामाधान गर्न र सुरक्षा चुनौतीलाई तत्काल समाधानका लागि जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूले  निर्धक्कताका साथ आफ्नो अधिकारको प्रयोग गर्न निर्देशन दिनु भयो । गोष्ठीमा प्रहरी महानिरीक्षक दिपक थापाले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र साँस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्षम, अब्बल र व्यावसायिक रूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । केन्द्रीय र प्रदेश स्तरबाट प्रभावकारी एवम् कुशल समन्वय र सहकार्य गरी कोशी प्रदेशको शान्ति सुरक्षा थप मजबुत बनाई व्यावसायिक तथा सक्ष्म प्रहरी सेवा प्रवाह गराउन र कानूनको निष्पक्ष कार्यान्वयन गरी विकास मैत्री वातावरण सृजना गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले विधिको शासनलाई अझ सशक्त बनाउन, आम नागरिकलाई न्यायको प्रत्याभूति दिलाउन, राज्यले प्रदत्त गर्ने सेवाहरूमा सबैको पहुँच सुनिश्‍चित गर्न एवम् देश र समाजको दिगो विकास प्राप्तिमा नेपाल प्रहरी सदैव कटिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य सम्पादन गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन समेत दिनुभयो ।उक्त गोष्ठीमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, नेपाली सेनाका रथी निर्मल कुमार थापा, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेलले प्रदेश स्तरिय सुरक्षा गोष्ठीको बारेमा आ-आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रममा गृह मन्त्रालयका सहसचिव राम चन्द्र तिवारीले स्वागत मन्तव्य व्यक्त राख्नुका साथै प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उदेश्य तथा कार्यक्रमको वारेमा प्रकाश पार्नु भएको थियो । यसै गरी कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राम प्रसाद आचार्यले प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, समस्या र चुनौती तथा समाधानका लागि आवश्यक कार्यको वारेमा प्रस्तुतिकरण गर्नु भएको थियो भने १४  वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशका प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, १४ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।



सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२५

झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको धरान- ११ कि रोशनी राई र धरान-१५ की खुशी राईलाई औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका-१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८२-०८-२४

सुनसरी, उदयपुर र मोरङको बिभिन्न स्थानहरुबाट मंसिर २३ गते लागू औषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-२ स्थित सडक किनारमा रोकेर राखेको BR 38 T 3596 नम्बरको मोटरसाईकल चालक भारत विहारका ३० बर्षीय सुरज कुमार सोनी र २५ बर्षीय केशव कुमार सोनीलाई शंकालागी चेकजाँच गर्दा साथमा रहेको १३ ग्राम ४४० मिलिग्रा लागू औषध ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले बिभिन्न प्रकारको लागू औषध १ सय १० ट्याब्लेट सहित कटारी-४ का रुस्तम तामाङलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१५ स्थितबाट को २ प २०४२ नम्बरको मोटरसाईकल चालक भारत बिहारका २६ बर्षीय निरज राय र पछाडी सवार बिराटनगर-१६ का ४१ बर्षीय राकेश यादवलाई ब्राउन सुगर ५ ग्राम १५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न निर्देशन
२०८२-०८-२४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी भित्री ग्रामिण बस्तीहरुमा बसोवास गर्ने नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिती रहेको थियो ।    

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।