प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

१ नम्बर प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी २०७९ को उद्घाटन

२०७९-०५-०२

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको संयुक्त आयोजनामा संचालन भएको १ दिने “१ नम्बर प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी-२०७९” को समुद्घाटन भएको छ ।

१ दिने प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठीको १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय केदार कार्कीले पानसमा बत्ती बालेर बिधिवत रुपमा कार्यक्रमको समुद्घाटन गर्नु भएको हो । अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, १ नम्बर प्रदेश भित्रका अपराध अनुसन्धान गर्ने ईकाईहरुको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयवीच समन्वयको विकास गर्ने उद्देश्यका साथ प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठीको आयोजना भएको हो ।


कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय केदार कार्कीले पछिल्लो समय अपराधिक प्रवृत्तिमा परिवर्तन हुँदै गईरहेकोले अनुसन्धान अधिकृतको क्षमता विकास एवं प्रविधिमुलक अपराध अनुसन्धानका निमित्त अनुसन्धानमा प्रयोग हुने स्रोत साधनको व्यवस्थापनमा जोड दिनु भयो । यसका लागि प्रदेश मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउँदै अपराध अनुसन्धान क्षेत्रमा प्रदेश सरकारले जुनसुकै प्रकारको सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । 

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पछिल्लो समय प्रबिधीको प्रयोग गरी धेरै जसो अपराधहरु बढिरहेको हुँदा त्यस्ता प्रकारका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरी प्रबिधी मैत्री हुनुको बिकल्प नरहेको बताउनु भयो । वहाँले अपराध अनुसन्धानमा प्रमुख तिन पिल्लरको रुपमा रहेको अनुसन्धान, अभियोजन र न्याय निरुपण एक आपसमा समन्वय, सहकार्य मार्फत मात्र पिडितले न्याय र वास्तविक पिडकले सजाय पाउने कुरामा जोड दिनु भयो । यसका साथै अपराध अनुसन्धान क्षेत्रमा काम गर्ने प्रहरी कर्मचारीहरु बढी संबेदनशिल भई पारदर्शी रुपमा काम गर्ने निर्देशन समेत दिनु भयो ।  


यसैगरी आन्तरीक मामिला तथा कानून मन्त्रालयका सचिव काली प्रसाद पराजुलीले अपराध अनुसन्धान क्षेत्रमा प्रहरीले गरेका कार्यहरु प्रशंसायोग्य रहेको बताउदै अपराध अनुसन्धान तथा नियन्त्रणमा सम्बद्ध सबै निकाय तथा सहयोगी निकायहरु पनी उत्तिकै जिम्मेवार हुनु पर्नेमा जोड दिनु भयो ।  


त्यसैगरी कार्यक्रममा बोल्दै उच्च अदालत बिराटनगरका सह-न्यायाधिवक्ता कोषहरी निरौलाले पछिल्लो समय अपराधको Trend मा परिवर्तन र यसको क्षेत्र फैलिदै गईरहेकोले प्रहरीलाई थप चुनौति थपिएको हुँदा प्रहरीले समेत आफुलाई सोही अनुसार तयारी अवस्थामा राख्नुपर्ने बताउनु भयो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदीले अपराध अनुसन्धान गर्ने तल्लो ईकाईमा बास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिने र समस्या समाधानमा यस गोष्ठीले पुलको काम गर्ने बताउँदै अपराधका प्रकृति र प्रवृत्ति परिवर्तित हुँदै गईरहेको तथा अहिलेका अपराधीको Track Record समेत नपाईएकोले प्रहरीको अवको अनुसन्धान प्रविधिमैत्री हुनुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले हरेक नागरिकले आफ्ना सन्ततिलाई नैतिक शिक्षा अनिवार्य दिनुपर्ने विषयमा समेत जोड दिनुभयो ।


उच्च अदालत बिराटनगरका रजिष्ट्रार जितेन्द्र थपलियाले अपराध अनुसन्धानका तिन निकायहरु अनुसन्धान , अभियोजन र न्यायालयवीच निरन्तर समन्वय सहकार्य हुनु पर्नेमा जोड दिनुभयो । अनुसन्धान नै न्याय निरुपणको प्रमुख आधार भएको हुँदा प्रहरीले यसलाई अझ बढी संवेदनशिल भई अनुसन्धानमा विशेष ध्यान दिन सुझाव समेत दिनु भयो ।  


कार्यक्रमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अपराध अनुसन्धान क्षेत्रलाई विशिष्टिकृत गरी कानुनमा व्यवस्था गरिएका कार्यहरु गर्नको लागि राज्यले सहयोग गरेमा मात्र प्रविधिमैत्री अनुसन्धानमा सहयोग पुग्ने हुँदा सरकारले अपराध अनुसन्धानका क्षेत्रमा सहयोग गर्नुपर्ने अपरिहार्य रहेको बताउनु भयो ।


कार्यक्रममा उपस्थित प्रमुख अतिथी तथा अन्य अतिथीहरुलाई धन्यबाद ज्ञापन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख सुदिप गिरीले अपराध गर्ने बदलिदो शैली एवं आवरण, फैलदो अपराधिक संजालले थप चुनौतीहरु आईरहेको सन्दर्भमा अपराध अनुसन्धानको कार्यमा सबै क्षेत्रबाट सहयोग हुनु पर्नेमा जोड दिनु भयो । 

प्रहरीले प्रविधिमुलक अपराध अनुसन्धानमा जोड दिई कार्य गर्दे आईरहेका पनी प्रयाप्त साधन श्रोत नहुँदा केही कठिनाईहरु रहेको बताउँदै साधनस्रोत व्यवस्थापन लगायत दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता रहेको बताउनु भयो ।
पहिलो चरणको समुद्‍घाटन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक भिम ढकालले  स्वागत एवं कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी, प्रहरी कर्मचारीहरु लगायत १५० जनाको उपस्थित रहेको थियो ।


सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जना पक्राउ
२०८२-१२-१८

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट चैत १७ लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जनालाई पक्राउ गरीएको छ । झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ स्थितबाट प्र.१-०१-०१२ प ४७१५ नम्बरको स्कुटर चालक मेचीनगर नगरपालिका-१२ का संतोष लिम्बु पछाडी सवार ओम नरायण मंडल र पुजन कुमार खनाललाई ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित र  मे ४ प ८२७४ नम्बरको मोटरसाईकल चालक भद्रपुर-९ का रेसल खड्का पछाडी सवार संदिप राजबशी र प्रबिण राईलाई ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय अनारमनीले दमक नगरपालिका-८ का छितिज तामाङलाई १ ग्राम २७० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय रानीले सुनसरीको धरान उप-महानगरपालिका-११ का बिनायक सुवेदीलाई २४ एम्पुल प्रतिबन्धित औषधी सहित मोरङको-१५ स्थितबाट नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुर चौदण्डी-४ का पर्वत राईलाई ३० ट्यब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । पक्राउ  परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।                

लागू औषध सहित ९ जना पक्राउ
२०८२-१२-१६

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १५ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका-६ का अनिस तामाङ, राघब राई, सुन्दरहरैचा-८ का सचिन घिमिरे र बिवेक श्रेष्ठलाई ६ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी झापाको इलाका प्रहरी कार्यालय गौरादहले गौरादह नगरपालिका-२ का धिरन राई, गौरादह- ७ का निरोज बर्देवा र रुपेश दर्जीलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर, प्रतिवन्धित औषधी १२ चक्की सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको अस्थायी प्रहरी पोष्ट हसन्दहले उर्लाबारी नगरपालिका-१ का विश्वास तामाङ र कञ्चनपुर बेलौरी नगरपालिका-९ का सागर चौधरीलाई नाईट्राजेपाम ९४ क्याप्सुल, ९० चक्की ट्रामाडोल र ५० चक्की स्पास्पेन सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।

लागु औषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८२-१२-१५

झापा र मोरङको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ । झापाको वर्डा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर-४ डाँगीबारी स्थितबाट अर्जुनधारा नगरपालिका-११का शिब गिरी र संदिप उप्रेतिको साथबाट ८ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ भने मोरङको कानेपोखरी गाउँपालिका-६ स्थितबाट स्थानिय दिप्लुङ राई, भिजन राई  र कुमार लिम्बुलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका पाचैँ जनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ३ जना पक्राउ
२०८२-१२-१४

झापा, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-६ स्थितबाट  भारत ठाकुरगंजका ३७ वर्षिय बेचन यादवलाई २० ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको बराहक्षेत्र- ८ शुक्रबारे स्थितबाट B38L2962 नम्बरको मोटरसाईकललाई संका लागी चेकजाँच गर्दा चालक देवानगन्ज-१का २३ वर्षिय राकेश कुमार यादवको साथबाट २५ किलोग्राम गाँजा फेलापारी इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ । त्यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा -६ लालपत्ता चोक स्थितमा चेकजाँचको क्रममा स १ ज ५०३ नम्बरको यात्रुबाहक विङ्गरमा सवार त्रियुगा-९का चुडामणी रायाराझीको साथबाट ओपिडोल ७९० ट्याब्लेट, स्पासपेन ८९० ट्याब्लेट र  निड्राजेपाम ५४० ट्याब्लेट  प्रतिबन्धित औषधी फेला पारी नियत्रणमा लिएको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।    

लागू औषध सहित ९ जना पक्राउ
२०८२-१२-१३

झापा र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १२ गते झापाको भद्रपुर नगरपालिका-४ र ५ को बिभिन्न स्थानहरुबाट वडा प्रहरी कार्यालय भद्रपुरले १० ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड- ७ का अजय रिऋदेब, बिर्तामोड- ३ का रस्को मुर्मु, सरोज कार्की, बिर्तामोड- ६ का मो. जाबिर आलम र भद्रपुर- ४ का दिपेश राजबंशीलाई नियन्त्रणमा लिएको हो भने अर्जुनधारा नगरपालिका- ८ का बिक्रम यादव र अजय राजवंशीलाई ४ सय मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानबाट लागू औषध ब्युरो काँकडभिट्टाले पक्राउ गरेको हो । त्यस्तै सुनसरीको धरान- २० बाट अस्थायी प्रहरी पोष्ट जोरसखुवाले प्र.१-०२-०५४ प ०९४४ नम्बरको मोटरसाईकल चालक धनकुटा साँगुरीगढी गाउँपालिका- ८ का शिखर राई र मोटरसाईकल पछाडी सवार विश्व राईलाई १७ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध सहित ३ जना पक्राउ
२०८२-१२-१२

झापा, सुनसरी र उदयपुरबाट चैत्र ११ गते लागूऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका भद्रपुर नगरपालिका-९ का ३३ वर्षीय दिनेश कुर्मीलाई लागू औषध ब्राउन सुगर २ ग्राम ६९० मिलिग्राम सहित भद्रपुर-५ मेचीपुलबाट पक्राउ गरेको छ । यसै गरी सुनसरीको धरान उप-महानगरपालिका-१६ स्थित पानीट्याङ्कीबाट अस्थाई प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३० बर्षीय रितिक थामीलाई ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन ६१० ट्याब्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय कटारी उदयपुरले कटारी नगरपालिका-५ बरमझियाका ३३ बर्षीय तुल बहादुर थापालाई १० किलोग्राम गाँजा सहित उनकै घरबाट पक्राउ गरिएको छ । पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको छ ।