प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

२०८२-०१-१०

  • A
  • A-
  • A+
Share

झापा र भोजपुरको बिभिन्न स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बैशाख ९ गते झापाको कन्काई नगरपालिका-८ स्थितमा ना. ७ प २९९७ नम्बरको ट्याङकरले ठक्कर दिँदा साईकल यात्री अर्जुनधारा नगरपालिका- ५ का ५५ बर्षीय लेखनाथ सापकोटाको घटनास्थलमै मृत्यु भएको हो भने ट्याङ्कर चालक झापाको कमल गाउँपालिका-१ का ४६ बर्षीय भिम बहादुर कोईरालालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । त्यस्तै भोजपुरको षडानन्द नगरपालिका-१४ स्थित सडक किनारामा रोकेर राखेको को. २ त ८६९७ नम्बरको ट्याक्टरमा खेल्ने क्रममा अचनाक ट्याक्टर अगाडी बढी सडक देखी करिब १५ मिटर तल खसेर दुर्घटना हुँदा मामा घरमा बस्दै आएका षडानन्द -१२ का बिकास कार्कीको ८ बर्षीय छोरा सौगात कार्कीको घट्नास्थलमा नै मृत्यु भएको हो । ट्याक्टर चालक २२ बर्षीय भुबराज भट्टराईलाई इलाका प्रहरी कार्यालय दिङ्लाले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जना पक्राउ
२०८२-०१-३०

मोरङ, झापा र भोजपुरबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जनालाई प्रहरीले  पक्राउ गरेको छ । वैशाख २९ गते बिराटनगर महानगरपालिका-१६ र १७ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारत बाट नेपाल तर्फ आउदै गरेका मोरङ केरावारी गाँउपालिका-७ का ३० वर्षीय प्रेम राई र ४४ वर्षीय नबिन चेम्जोङलाई ब्राउन सुगर ४ ग्राम ५० मिलिग्राम सहित र झापा दमक-५ की २८ वर्षीया सानु माझी र २० वर्षीया अनिता माझीलाई प्रतिबन्धित औषधी-३६ एम्पुल सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको मेचीनगर-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी २५ वर्षीया सरु राई र २० वर्षीया सुजता राईलाई ब्राउन सुगर ६ सय १० मिलिग्राम सहित पक्राउ गरेको छ । सोहि दिन इलाका प्रहरी कार्यालय गौरीगंजले झापा कमल गाँउपालिका-६ का २९ वर्षीय हरि चन्द्र कार्कीलाई १ ग्राम ४ सय ३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले  भोजपुर-१२ कोट डाडाँका २२ वर्षीय संजिव श्रेष्ठलाई  प्रतिबन्धित औषधी- ट्रमाडोल र स्पासपेन गरि जम्मा २५२ चक्की सहित पक्राउ गरेको  छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

लागूऔषध ब्राउन सुगर सहित १२ जना पक्राउ
२०८२-०१-२९

झापा, मोरङ, सुनसरी र भोजपुरको बिभिन्न स्थानहरुबाट वैशाख २८ गते लागूऔषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ती गाउँपालिका-३ बुधबारे बजार स्थितबाट इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले सोहि स्थानका ३३ बर्षीय उत्तम कार्कीलाई ३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी पोष्ट बसपार्क झापाले रुपन्देहीको बुटवल नगरपालिका-३ की २५ बर्षीया निर्मला थापालाई ५ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।  यसैगरी लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले विराटनगर महानगरपालिका-१५ र १६ स्थितबाट धरान उप-महानगरपालिका-१२ का २९ बर्षीय बसन्त तामाङलाई  ब्राउन सुगर २ ग्राम ८८ मिलिग्राम र मोरङको सुन्दरहरैचा नगरपालिका-३ का २०  बर्षीय दिवश तामाङलाई १ ग्राम ७१ मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसका साथै इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सुनसरीको बराहक्षेत्र नगरपालिका-७ सोमबारे स्थितबाट सोही स्थानका २५ बर्षीय धिरज राईलाई २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसका साथै लागुऔषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका-७ स्थित २४ बर्षीय संजय राईको कोठाबाट ३ ग्राम ४ सय ७० मिलिग्राम लागूऔषध ब्राउन सुगर, गाँजा १८ ग्राम  र नगद ७० हजार रुपैया फेलापारी कारोबारमा संलग्न भोजपुरको भोजपुर नगरपालिका-७ का १९ बर्षीय मौसम राई, भोजपुर-९ का २० बर्षीय रेन्जि शेर्पा, भोजपुर-५ का २० बर्षीय संगित राई , भोजपुर-७ का २० बर्षीय युकेश राई, १९ बर्षीय उचित राई, भोजपुर-६ का २९ बर्षीय दिपेश राई समेतलाई नियन्त्रणमा लिएको हो । लागूऔषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. ईश्वर कार्कीज्यूबाट पदभार ग्रहण
२०८२-०१-२८

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले यस कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार गृह मन्त्रालयको यही बैशाख २१ गतेको निर्णय अनुसार नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाण्डौबाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भई हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले वैशाख २८ गते कार्यभार सम्हाल्नु भएको हो । वहाँलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी सहित सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।  प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो भने वहाँले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै परिसरमा रहेको पलान्चोक भगवती मन्दिरमा विधिवतरूपमा पूजा अर्चना गर्नु भई कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नुभएको थियो । पदभार ग्रहण पश्चात् वहाँलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले कोशी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधको बिद्यमान अवस्था र चुनौती, प्रदेश प्रहरी कार्यालयद्वारा गरिएका नविनतम तथा रचनात्मक कार्यका बारेमा अवगत गराउनु भएको थियो ।

लागूऔषध ब्राउन सुगर सहित ६ जना प्रहरीको नियन्त्रणमा
२०८२-०१-२८

झापा र मोरङको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर सहित ६ जना प्रहरीको नियन्त्रणमा परेका छन् । वैशाख २७ झापाको गौरीगंज गाउँपालिका-२ स्थितबाट प्रहरी चौकी कोरोबारी झापाको प्रहरी टोलीले बा.२८ प ५३८४ नम्बरको मोटरसाईकल चालक दमक नगरपालिका-३ का २२ बर्षीय दिपेश बानिया र पछाडी सवार गौरादह नगरपालिका-५ का २२ बर्षीय अभिषेक राईलाई ब्राउन सुगर ८ सय ९० मिलिग्राम सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगंजबाट अनुसन्धान शुरु गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङको बेलबारी नगरपालिका-३ का २५ बर्षीय मिलन धिमाललाई ब्राउन सुगर २ ग्राम ९८ मिलिग्राम, सुनसरीको इटहरी उप-महानगरपालिका-१६ का  ३६ बर्षीय सुजन बि.क.लाई ब्राउन सुगर ७ ग्राम २३ मिलिग्राम तथा इटहरी-२० का ४० बर्षीय राजकुमार बस्नेत र २३ बर्षीय मदन बुढाथोकीलाई ब्राउन सुगर १ ग्राम ४६ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।  लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिईएका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।        

खुकुरी र कोदालो प्रहार गरी हत्यामा संलग्न २ जना पक्राउ
२०८२-०१-२८

झापामा खुकुरी प्रहारी गरी श्रीमतीको हत्या गर्ने श्रीमान र खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमातीलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २७ गते राती साढे ८ बजे झापाको कनकाई नगरपालिका-२ सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले उनकै श्रीमती ३४ वर्षीया पुजा हेमरनलाई आपसी वाद विवादको क्रममा धारीलो हतियार खुकरीले घाँटी काटी हत्या गरेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय सुरुङगाबाट  खटिएको प्रहरी टोलीले श्रीमानलाई नियन्त्रणमा लिएको छ भने उक्त लाश पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । त्यसैगरी वैसाख २७ गते विहान खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ का ५१ वर्षीय पाँचकर्ण राईलाई  उनकै श्रीमती  ५३ वर्षीया  रेनुका राईले सामान्य वादबिवादको क्रममा कोदालोको पासोले टाउकोमा प्रहार गरी घाईते बनाएकोमा तत्काल प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरी टोलीले घाईते राईलाई उद्दार गरी थप उपचारको लागी हेलिकप्टरद्वारा काठमान्डौ न्युरो अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । घटनामा संलग्न रहेकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ ।