प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५६ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

२०७८-०८-२८

  • A
  • A-
  • A+
Share

१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको ५६ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेलमैदानमा आज बिहान आयोजित एक बिशेष कार्यक्रमका बिच ५६ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक बि.सी.ले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्रले ५६ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पुर्ण परिवारलाई शुभकामना दिनु भएको छ ।
कार्यक्रममा बोल्दै वहाँले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको साथै योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्ने बताउनु भयो ।
 समयको परिवर्तन संगसंगै नागरीकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै हिजोका दिनहरु भन्दा फरक तर सरल र सहज रुपमा सेवा प्रदान गर्ने भावनाको जरो तालिमका दिनहरु देखि नै मस्तिष्कमा गढिन जरुरी रहेको हुँदा सोही अनुसारको प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रलाई निर्देशन समेत दिनु भयो ।
वाँहाले अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालिम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भोलीको दिनमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामुहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्ने गरी उच्च व्यवसायिकताका साथ काम गर्न निर्देशन समेत दिनु भयो ।
यसैगरी प्रहरी नायव महानिरीक्षक बि.सी.ले बार्षिक उत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटवल, भलिवल, टेवलटेनिस र ब्याडमिन्टन खेलका बिजय  हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गर्नु भएको थियो । यसैगरी तालिम केन्द्रमा बर्ष भरीमा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक खगेन्द्र धमालाले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा स्थापना कालदेखि हालसम्म विभिन्न आधारभूत तथा उन्नत तालिमहरु समेत ‍गरी कुल ७८,४१२ (अठहतर हजार चार सय बाह्र) जना प्रहरी अधिकृत तथा जवानहरुलाई प्रशिक्षित गरिसकेको जानकारी गराउनु भयो ।
कार्यक्रममा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले उपस्थित सबैमा धन्यवाद दिनु हुँदै नयाँ नयाँ चुनौतीसँग सामना गर्न सक्ष्रम, ब्यवसायिक एवं कर्तव्यनिष्ट प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र बिकल्प रहेकोले प्रशिक्षण पद्दतिलाई आधुनिक, ब्यवस्थित तथा उपलब्धिमुलक बनाउने कार्यमा तालिम केन्द्र निरन्तर अगाडि बढिरहेको बताउनु भएको थियो । बार्षिक उत्सब कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमति संघकी अध्यक्ष चारु कोईराला बि.सी. तथा पदाधीकारीहरु, र प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२५

झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको धरान- ११ कि रोशनी राई र धरान-१५ की खुशी राईलाई औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका-१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८२-०८-२४

सुनसरी, उदयपुर र मोरङको बिभिन्न स्थानहरुबाट मंसिर २३ गते लागू औषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-२ स्थित सडक किनारमा रोकेर राखेको BR 38 T 3596 नम्बरको मोटरसाईकल चालक भारत विहारका ३० बर्षीय सुरज कुमार सोनी र २५ बर्षीय केशव कुमार सोनीलाई शंकालागी चेकजाँच गर्दा साथमा रहेको १३ ग्राम ४४० मिलिग्रा लागू औषध ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले बिभिन्न प्रकारको लागू औषध १ सय १० ट्याब्लेट सहित कटारी-४ का रुस्तम तामाङलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१५ स्थितबाट को २ प २०४२ नम्बरको मोटरसाईकल चालक भारत बिहारका २६ बर्षीय निरज राय र पछाडी सवार बिराटनगर-१६ का ४१ बर्षीय राकेश यादवलाई ब्राउन सुगर ५ ग्राम १५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न निर्देशन
२०८२-०८-२४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी भित्री ग्रामिण बस्तीहरुमा बसोवास गर्ने नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिती रहेको थियो ।    

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।