प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण, श्रोत साधनको अभावलाई व्यवस्थापन गरेर प्रभावकारी प्रहरी सेवा प्रदान गर्न निर्देशन ।
२०८१-०९-११
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय झापा तथा प्रदेश विपद व्यवस्थान कार्यालय चन्द्रगढीको निरीक्षण भ्रमण गर्नु भएको छ । पुस १० गते निरीक्षण भ्रमणको क्रममा वहाँले जिल्ला प्रहरी कार्यालय झापामा रहेका बिभिन्न शाखाहरु लगायत हिरासत कक्ष तथा विपद व्यवस्थापन कार्यालयको निरीक्षण पश्चात जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत इकाई प्रमुखहरु सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वहाँले सुरक्षा सदैव सम्वेदनशिल बिषय भएकोले आफुलाई सुम्पिएको जिम्वेवारी चुस्त दुरुस्त अवस्थामा अनुशासित तवरले विश्राम नलिई आफ्नो पदिय दायित्व निर्वाह गर्न र समाजलाई जीवन्त राख्न ईमान्दारीताका साथ प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ ।
सम्पुर्ण प्रहरी कर्मचारीहरुले प्रहरी कार्यसम्पादन सम्झौता बमोजिम नतिजामुलक कार्य गरी सदैव प्रहरी संगठनको गरीमालाई उच्च बनाउन जोड दिनुका साथै श्रोत साधनको अभाव रहेको भनेर गुनासो मात्र गर्ने होईन, अभावलाई व्यवस्थापन गरेर हामीले प्रवाह गर्ने सेवा नागरिकको मन जित्ने गरी प्रभावकारीरुपमा प्रदान गर्न जरुरी रहेको बताउनु भएको छ । हाम्रा अग्रज प्रहरीले हामीलाई दुख गरेर सुम्पिएको जिम्मेवारी हामीले उत्कृष्ट तवरले निर्वाह गरी हाम्रा अनोज प्रहरीहरुलाई पनि अनुशासित, संगठित, भातृत्वभावयुक्त तथा असल अभ्यासका साथ जिम्मेवारी सुम्पिन कटिवद्ध रहनु पर्ने बताउनु भयो ।
वहाँले प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान तथा आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेण्डिङ्ग मुद्दाको सफल अनुसन्धान गर्न र धेरै क्षेत्रफल खुल्ला सिमा रहेको झापा जिल्लामा सीमा क्षेत्रबाट हुने अवैध चोरी निकासी नियन्त्रण, लागु औषध ओसार पसार नियन्त्रण, जंगली हात्तीको आतंकमा स्थानियबासीहरुसंग समन्वय गरी सुरक्षा व्यवस्थालाई मजवुद बनाउन तथा आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न निर्दशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा पाल्नु भएका प्रदेश प्रहरी प्रमुख अधिकारीले झापा जिल्लामा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गर्नु भएको थियो ।
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी.ले प्रदेश प्रहरी प्रमुख अधिकारीलाई झापा जिल्लाको समग्र शान्ती शुरक्षाको अवस्था, जनशक्ती व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु र प्रदेश प्रहरी कार्यालय संगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।