प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दुई दिवसीय प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न ।

२०८१-०२-२८

  • A
  • A-
  • A+
Share

मोरङको बिराटनगर स्थित बिग होटलमा दुई दिवसीय प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा कोशी प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न भएको हो । कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता तथा गृह सचिव एक नारायण अर्यालको अध्यक्षतामा जेष्ठ २७ गतेबाट संचालन भएको उक्त गोष्ठीको माननीय उपप्रधान तथा गृह मन्त्री रवी लामिछानेले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।


प्रदेश स्तरिय सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय उप-प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले शान्ती सुरक्षा तथा अपराध नियन्त्रणका लागी भावी रणनिती बनाएर काम गर्नु पर्ने साथै शान्ति सुरक्षा तथा बिकास निर्माण कार्यको लागि तीनवटै सरकार आपसमा समन्वय र सहकार्य गरी अगाडि बढनु पर्ने बताउनु भएको थियो । वहाँले बैदेशिक रोजगारीको प्रलोभन दिएर गरीने ठगी नियन्त्रण गर्न, भन्सार चोरी निकासी, कालोवजारी, गुण्डा गर्दी, भ्रष्टाचार नियन्त्रणका लागि दत्त चित्त भई लागि पर्न निर्देशन दिनु भएको थियो ।  वहाँले बिपद व्यवस्थापनका लागि उपलव्ध श्रोत साधन सहित तयारी अवस्थामा रहन, अपराध नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण, आत्महत्या न्युनिकरण तथा लागुऔषध दुर्व्यसनि नियन्त्रणका लागि सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गरी सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न जोड दिनु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम गर्नको लागि गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, भन्सार छलि, राजस्व चुहावट जस्ता गतिविधि नियन्त्रण गर्न जिम्मवार निकायहरूले आ-आफ्नो स्थानबाट सक्रिय रूपमा दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । वर्दी लगाएको प्रहरी जहाँ उभिन्छ त्यहाँ सरकारको प्रतिनिधित्व भइरहेको हुने चर्चा गर्दै उहाँले समस्या परेको बेला नागरिक पहिला प्रहरी समक्ष पुग्ने हुँदा उनीहरूको बिनम्रताका साथ गुनासो सुनुवाई गर्नुपर्ने बताउनुभयो । लागू पदार्थ दुर्व्यसन यस प्रदेशको ठूलो समस्याकोरुपमा देखा परेकोले यसको नियन्त्रणका लागि सबैले आ-आफ्नो स्थानबाट सक्रिय भुमिका निर्वाह गर्नु पर्ने र विशेष अभियानका साथ स्कुल प्रशिक्षण तथा सचेतानमूलक कार्यक्रमहरु संचालन गर्न सरोकारवाला निकायहरुलाई आह्वान समेत गर्नु भयो ।
कार्यक्रममा गृह सचिव एकनारायण अर्यालले गोष्ठीमा भएको प्रस्तुतीकरण एवम् छलफलले एक आपसमा भएका असल अभ्यासको आदान प्रदान गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नु हुदै बिगतमा भएका कमि कमजोरीहरुबाट पाठ समेत सिक्नु पर्ने बताउनु भयो ।  मानब बेचबिखन, लागूऔषध ओसारपसार, भन्सार छली, चोरी तस्करी जस्ता अवैधानिक गतिविधि नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले मन, वचन र कर्मले काम गर्नु पर्नेमा जोड दिनुभयो । राष्ट्र सेवक कर्मचारीले सेवाग्राहीको समस्या, गुनासोलाई सुनुवाई गरी समयमै सामाधान गर्न र सुरक्षा चुनौतिको निराकरण र समाधानका लागि जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूले  निर्धक्कताका साथ आफ्नो अधिकारको प्रयोग गर्न समेत उहाँले निर्देशन दिनु भयो ।
गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र साँस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्ष्म, अब्बल र व्यावसायिक रूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । केन्द्रीय र प्रदेश स्तरबाट प्रभावकारी एवम् कुशल समन्वय र सहकार्य गरी कोशी प्रदेशको शान्ति सुरक्षा थप मजबुत बनाई व्यावसायिक तथा सक्ष्म प्रहरी सेवा प्रवाह गराउन र कानूनको निष्पक्ष कार्यान्वयन गरी विकासमैत्री वातावरण सृजना गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले कानूनी राज्यको सुनिश्‍चितता गर्न प्रहरी सेवा अपरिहार्य रहेको चर्चा गर्दै विद्यमान कानूनी क्षेत्रहरूमा समयानुकुल परिमार्जन गर्दै लैजान र प्रहरीलाई हातहतियार भन्दा पनि कानूनी अधिकारहरूले सुसज्जित गर्न समय सान्दर्भिक रहने बताउनुभयो । विधिको शासनलाई अझ सशक्त बनाउने, आम नागरिकलाई न्यायको प्रत्याभूति दिलाउने, राज्यले प्रदत्त गर्ने सेवाहरूमा सबैको पहुँच सुनिश्‍चित गर्ने एवम् देश र समाजको दिगो विकास प्राप्तिमा नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गर्दै समग्र प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य सम्पादन गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई उहाँले निर्देशन दिनुभयो ।
उक्त गोष्ठीमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारी, नेपाली सेनाका रथी अशोकराज सिग्देल क्षेत्री, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, गृह मन्त्रालयका सह-सचिवहरू नारायण प्रसाद भट्टराई, भीष्म कुमार भूसाल र थानेश्‍वर गौतमले आ-आफ्नो भनाई राख्नु भएको थियो ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कोशी प्रदेशको समग्र विद्यमान सुरक्षा अवस्थाको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । यसै गरी कोशी प्रदेश अन्तर्गतका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।  उक्त गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशका प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, १४ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२५

झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको धरान- ११ कि रोशनी राई र धरान-१५ की खुशी राईलाई औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका-१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८२-०८-२४

सुनसरी, उदयपुर र मोरङको बिभिन्न स्थानहरुबाट मंसिर २३ गते लागू औषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-२ स्थित सडक किनारमा रोकेर राखेको BR 38 T 3596 नम्बरको मोटरसाईकल चालक भारत विहारका ३० बर्षीय सुरज कुमार सोनी र २५ बर्षीय केशव कुमार सोनीलाई शंकालागी चेकजाँच गर्दा साथमा रहेको १३ ग्राम ४४० मिलिग्रा लागू औषध ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले बिभिन्न प्रकारको लागू औषध १ सय १० ट्याब्लेट सहित कटारी-४ का रुस्तम तामाङलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१५ स्थितबाट को २ प २०४२ नम्बरको मोटरसाईकल चालक भारत बिहारका २६ बर्षीय निरज राय र पछाडी सवार बिराटनगर-१६ का ४१ बर्षीय राकेश यादवलाई ब्राउन सुगर ५ ग्राम १५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न निर्देशन
२०८२-०८-२४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी भित्री ग्रामिण बस्तीहरुमा बसोवास गर्ने नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिती रहेको थियो ।    

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।