लागुऔषध सहित ६ जना पक्राउ
२०८०-११-२१
- A
- A-
- A+
झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रीत औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ४ बजे झापाको कमल गाउँपालिका- ३ स्थितमा रहेको एक होटलमा लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले झापाको गौरीगंज गाउँपालिका-२ का ३६ बर्षिय अजय हेमरमल र लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न रहदै आएका अटो चालक २६ बर्षिय सम टुडुलाई प्र.१-०१-००१ ह ९९१० नम्बरको अटो र लागुऔषध ब्राउनसुगर २० ग्राम सहित नियन्त्रणमा लिएको थियो । त्यसैगरी मोरङको उर्लावारी नगरपालिका-३ संजोरा पुल स्थितमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट चेकजाँचमा खटिएको प्रहरीको टोलिले प्र.१-०१-०१६प.४८३० नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा स्कुटरको डिकी भित्र लुकाई छिपाई ल्याउदै गरेको प्रतिवन्धित औषधी ट्रामाडोल ३५० र स्पासमिट २९० ट्यावलेट सहित झापाको कमल गाउँपालिका-५ का ३२ बर्षिय राजन लिम्बुलाई नियन्त्रणमा लिएको थियो । यसैगरी प्रहरीको सोही टोलिले मोरङको उर्लावारी नगरपालिका-४ आईतवारे स्थितबाट २४ बर्षिय रंजित चौधरी, २२ बर्षिय प्रविन चौधरी र २१ बर्षिय सुजन वराइलीलाई प्रतिबन्धित औषधी १७० ट्यावलेट र लागुऔषध गाँजा १५० ग्राम सहित नियन्त्रणमा लिएको थियो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।