प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ
२०८०-०८-१५
- A
- A-
- A+
मोरङ, सुनसरी र संखुवासभा जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिहिवार प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका- ११ बसपार्क स्थितमा वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले ईटहरी उप-महानगरपालिका- ८ की २३ बर्षीया स्वस्तिका चौधरीलाई लागुऔषध नाईट्राभेट १५ ट्याब्लेट र खाली सिरिन्ज २ पिस सहित पक्राउ गरेको हो । त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका- ७ स्थितमा लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय मनिष माझी र सप्तरी राजविराज का २४ बर्षीय सुनिल राईलाई ब्राउनसुगर ३९ ग्राम ७ सय ७० मिलिग्राम, प्रतिबन्धित औषधी १५ ट्याबलेट र ८ ग्राम १ सय मिलिग्राम गाँजा सहित पक्राउ गरेको हो । यसैगरी बराहक्षेत्र- ६ मुनालचोकबाट १८ बर्षीय अनिश राईलाई लागुऔषध नाइट्रभेट र स्पास्मो गरी ५ सय ७७ ट्याब्लेट, नियन्त्रित औषधी ट्रामाडोल ४ सय ८० क्याप्सुल सहित प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी प्रहरी चौकी याख्खाचौक संखुवासभाबाट खटिएको प्रहरी टोलीले धर्मदेवी नगरपालिका- ५ बाट ३ सय १६ ग्राम गाँजा र गाँजा खान प्रयोग गरिने चिलिम १ थान सहित ५० बर्षीय गोपाल भन्ने मिन बहादुर दर्जीलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।