आम नागरिकसंग सभ्य र शिष्ट भाषा प्रयोग गरी प्रहरी सेवा प्रदान गर्न प्रदेश प्रहरी प्रमुखको निर्देशन
२०८०-०२-०१
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले आम नागरिकसंग सभ्य र शिष्ट भाषा प्रयोग गरी प्रहरी सेवा प्रदान गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
असहाय, गरिव, पिडामा परेका व्यक्ति तथा जेष्ठ नागरिकहरुको पिर मार्का र समस्यालाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्नु मानविय धर्म रहेको बताउदै सम्पूर्ण प्रहरी कर्मचारीहरुले आफ्नो पदिय जिम्मेवारी तथा भएका आदेश निर्देशनलाई अक्षरस पालना गर्नु पर्ने बताउनु भएको छ । समाजमा शान्ति सुरक्षा स्थापना गर्ने प्रहरीको प्रमुख जिम्वेवारी रहेको बताउदै, समाजमा अपराधका घटना हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा सम्पुर्ण प्रहरी कर्मचारीहरु इमान्दारी पुर्वक लागि पर्नु पर्ने बताउनु भएको छ ।
समाजमा शान्ति सुरक्षा कायम राख्न लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रण, फरार प्रतिबादी खोजतलास गरी पक्राउ गर्न, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न र सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन समेत निर्देशन दिनु भएको छ ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तरता दिदै दुरदराजमा रहेका नागरिकहरुमा प्रहरी सेवाको पहुच पुर्याउन लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न समेत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।